प्रधानमन्त्री ओली थाइल्याण्ड प्रस्थान

वि.सं.२०८१ चैत १९ मंगलवार १४:३२
shares

काठमाडौं, १९ चैत । प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्डको औपचारिक भ्रमण र बिमस्टेकको छैटौं शिखर सम्मेलनमा भाग लिन मंगलवार बैंककतर्फ प्रस्थान गरेका छन् । मित्रराष्ट्र थाइल्याण्डका प्रधानमन्त्री पैटोड्टानं शिनावात्राको मैत्रीपूर्ण निमन्त्रणामा नेपालका प्रधानमन्त्रीबाट इतिहासमै पहिलो पटक थाइल्याण्डको यो भ्रमण औपचारिक हुन लागेको हो ।
प्रधानमन्त्री ओली नेतृत्वको भ्रमण टोली मंगलबार दिउँसो २ बजे बैंककतर्फ प्रस्थान गरेका हुन् । भ्रमणको क्रममा प्रधानमन्त्रीस्तरमा द्विपक्षीय वार्ता भई पर्यटन र संस्कृतिका सन्दर्भमा दुई र गैर सरकारी क्षेत्रविच ६ वटा, समझदारीपत्रमा हस्ताक्षर हुनेछ ।
द्विपक्षीय वार्तापछि थाइल्याण्डका प्रधानमन्त्री सिन्प्रवातसँगै प्रधानमन्त्री ओलीले संयुक्त प्रेस ब्रिफिङमा समेत सहभागी हुने कार्यक्रम छ । प्रधानमन्त्री ओलीले थाइल्याण्डका नरेशसँगको भेटपछि पहिलो दिनको एकदिने औपचारिक भ्रमण सकिनेछ ।
थाइल्याण्डमा रहँदा प्रधानमन्त्री ओलीले चैत २१ गते बिहान त्यहाँका प्रतिष्ठित व्यवसायीसँग भेटघाट र छलफल गर्ने कार्यक्रम तय भएको छ भने सोही दिन दिउँसो एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने कायक्रम समेत रहेको छ ।
प्रधानमन्त्री ओलीले चैत २२ गते बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (विमेस्टक) शिखर सम्मेलनमा सहभागी भई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।बैंककस्थित नेपाली दूतावासमा हुने कार्यक्रममा पनि प्रधानमन्त्री ओली सहभागी भई प्रधानमन्त्री नेतृत्वको टोली चैत २३ गते स्वदेश फर्किने कार्यतालिका रहेको भन्दै उच्च स्रोतले जानकारी दिए ।