नेप्से परिसूचकमा झिनो सुधार

3.98K
shares

काठमाडौँ, १४ वैशाख । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले सुधार भएको छ । लगातार ओरालो लागेको नेप्से परिसूचक बुधबार सामान्य सुधार भएको हो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा ५।१७ अङ्कले सुधार भई दुई हजार ३७६।१७ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १।६१ अङ्कले उकालो लागेर ४५४।५६ मा पुगेको छ ।

कूल २२८ कम्पनीको २८ लाख ८५ हजार ३९ कित्ता शेयर रु एक अर्ब आठ करोड ९९ लाख दुई हजार ३६ मूल्यमा खरिद बिक्री भए । बुधबारको कारोबारपछि बजार पूँजीकरण रु ३३ खर्ब ८० अर्ब आठ करोड ७० लाख ७० हजार बराबर पुगेको छ ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये बुधबार चार उपसमूहको शेयर मूल्य ओरालो लागेको भने नौ उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ । बैंकिङ २।५८, व्यापार ५।३९, लघुवित्त ३।५५ र सामूहिक लगानीकोष ०।१ अङ्कले ओरालो लागेको छ । होटल तथा पर्यटन ३६।७४, विकास बैंक ७५।०१, जलविद्युत् १४, वित्त १४।४९, निर्जीवन बीमा ३०।६९, उत्पादन २२।३४, अन्य ११।३, जीवन बीमा ०।२४ र लगानी ०।३ अङ्कले उकालो लागेको छ ।

कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको रु पाँच करोड २१ लाख १३ हजार ३३२ बराबरको कारोबार भयो । यस्तै, हिमालयन डिस्टिलरी रु तीन करोड ८० लाख ५० हजार ५९९, नेपाल फाइनान्स रु तीन करोड ३६ लाख दुई हजार ६४४, नबिल बैंक रु तीन करोड २६ लाख ४८ हजार ४२२ र एनआइसी एशिया बैंक रु दुई करोड ८८ लाख ३९ हजार ५७२ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

नेप्सेका अनुसार जाल्पा सामुदायिक लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । नेपाल फाइनान्स ६।८२, राधी विद्युत् कम्पनी ५।५४, ङादी ग्रुप अफ पावर ४।६५ र माहुली लघुवित्तका शेयरधनीले ३।८८ प्रतिशतले कमाए । त्यस्त, सानिमा इक्विटी फण्ड ३।८८, सानिमा लार्ज क्याप ३।३७, माउण्टेन इनर्जी नेपाल ३।१८, मानुषी लघुवित्त ३।११ र साना किसान विकास लघुवित्तका लगानकिर्ताले २।९१ प्रतिशतले गुमाए ।