कोरोना पछि तङ्ग्रिँदै गरेको अर्थतन्त्रमा बाह्य क्षेत्रको प्रभाव
वि.सं.२०७९ वैशाख २१ बुधवार १५:४७
shares
काठमाडौं, २१ वैशाख । विसं २०७२ को भूकम्पले नेपालको अर्थतन्त्रमा नकारात्मक असर पार्याे । भूकम्पको असर न्यूनीकरण गर्दै लयमा अगाडि बढेको नेपाली अर्थतन्त्र विश्वव्यापी कोरोना महामारीको अवधिसम्म अप्ठ्यारो अवस्थामा आइपुग्यो । कोरोनाले पारेको प्रभावबाट तङ्ग्रिँदै गर्दा मुलुकको अर्थतन्त्रमाथि फेरि चुनौती थपिएको छ ।
रुस–युक्रेन द्वन्द्वका कारण विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि भएको छ । चालु आवमा पेट्रोलियम पदार्थको खरिदबाट मात्रै करिब रु चार खर्ब विदेशिने अनुमान छ । त्यस्तै चालु आवको नौ महिनाको अवधिमा रु तीन खर्ब बराबरको कृषिजन्य उत्पादन आयात भएको तथ्याङ्क छ ।
भूकम्प, कोरोना महामारी, बेमौसमी वर्षा तथा विश्वव्यापी मूल्यवृद्धिले मुलुकको अर्थतन्त्रमा प्रभाव पारेको छ । बढ्दो आयातका कारण अर्थतन्त्रमा दबाब परेको छ । आयात निर्यातको अन्तर बढ्नु, कृषिजन्यलगायत विलासी वस्तुको आयात बढ्नु, विप्रेषण आप्रवाहमा संकुचन आउनु, विदेशी मुद्रा सञ्चिती घट्नुजस्ता कारणबाट मुलुकको अर्थतन्त्र सङ्कटग्रस्त अवस्थातर्फ उन्मुख छ । विश्वव्यापी अर्थतन्त्रमा आर्थिक वृद्धि घट्दो अवस्थामा छ भने मूल्यवृद्धि बढ्दो अवस्थामा छ । अर्थतन्त्रलाई थप बिग्रन नदिन सरकार तथा सरोकारवाला निकायले विभिन्न नीति अख्तियार गरिरहेका छन् । अझै ढुक्क हुने अवस्था बनिसकेको छैन । मुलुकको अर्थतन्त्रलाई नकारात्मक बाटोमा जान नदिन लागि परेको सरकारी अधिकारीको प्रष्टीकरण छ ।