आजदेखि हिमालयन बैंकको ऋणपत्र खरिद गर्न सकिने
वि.सं.२०७९ भदौ १५ बुधवार १०:१४
shares
काठमाडौं, १५ भदौ । हिमालयन बैंक लिमिटेडले २ अर्ब ५० करोड रुपैयाँको ऋणपत्र निष्काशन गरेको छ । बैंकले आजदेखि वार्षिक १०.५० प्रतिशत ब्याजदर रहेको ऋणपत्र निष्काशन खुला गरेको हो ।
‘हिमालयन बैंक लिमिटेड बण्ड २०८६’ नाम दिइएको यो ऋणपत्रको अवधि ७ वर्षको हुने छ । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र निष्काशन गर्न गरेको हो । निष्काशन गरिएकामध्ये ४० प्रतिशत अर्थात १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ भने बाँकी ६० प्रतिशत अर्थात १ अर्ब ५० करोड रुपैयाँ बराबरको १५ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ । सर्वसाधारणलाई निष्काशन गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ५० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ ।
सो ऋणपत्र खरिदका लागि छिटोमा भदौ १९ गतेसम्ममा आवेदन दिनुपर्नेछ । सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि भदौ २९ गतेसम्म लम्बिनेछ । लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम २ लाख ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन ।
बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । लगानीकर्ताले सी आश्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन ।