राष्ट्र बैंकको कडाइपछि चैतमा ५ प्रतिशतले घट्यो आयात, ९ महिनामै व्यापार घाटा १३ खर्ब नाघ्यो
वि.सं.२०७९ वैशाख ४ आइतवार १६:३९
shares
काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा १४ खर्ब ६६ अर्ब रुपैयाँ बराबरको आयात भएको छ । गत आर्थिक वर्षको चैत मसान्तसम्म ११ खर्ब ११ अर्ब रुपैयाँको आयात भएको थियो ।
चालु आर्थिक वर्षको चैतसम्ममा गत वर्षभन्दा ३२ प्रतिशतले आयात बढेको छ । फागुनसम्ममा भने आयात ३८ प्रतिशतले बढेको थियो ।
भन्सार विभाग स्रोतले उपलब्ध गराएको तथ्यांकअनुसार साउनदेखि उच्चदरमा बढीरहेको आयात रोक्न नेपाल राष्ट्र बैंकले कडाइ गरेपछि चैतमा गत वर्षभन्दा ५।५७ प्रतिशतले आयात घटेको हो ।
गत वर्ष चैत महिनामा १ खर्ब ६७ अर्ब रुपैयाँ बराबरको आयात भएकोमा यो वर्ष भने १ खर्ब ५७ अर्ब रुपैयाँ बराबरको आयात भएको छ ।
उच्च दरमा आयात बढ्दा विदेशी मुद्राको सञ्चितिमा गिरावट आएपछि राष्ट्र बैंकले पुष ५ गते २० वस्तु आयातका लागि एलसी खोल्दा नगद मार्जिन राख्नु पर्ने नीति लिएको थियो ।