उपत्यकामा मौलायो घरजग्गा किनबेचको कारोबार, वर्ष दिनमा हुने कारोबार ९ महिनामै 

3.94K
shares

काठमाडौं । कोरोना महामारीका कारणले आर्थिक मन्दी खेपिरहेको अवस्थामा घरजग्गा कारोबारमा उछाल आएको छ ।
कोरोना महामारीको समयमा न्यून असर परेको घरजग्गा कारोबारमा तरलता अभावले पनि असर पार्न सकेन ।
अहिले पनि देशभर मासिक ७० हजारभन्दा बढी घरजग्गा किनबेच भइरहेको छ । सामान्य अवस्थामा पनि सोही संख्या बराबर किनबेच हुँदै आएकोमा कोरोना महामारी र तरलता अभाव हुँदा पनि कारोबार भने घटेको छैन ।
अझ पछिल्लो समय त घरजग्गाको कारोबारका लागि काठमाडौं उपत्यका केन्द्र नै बनेको छ । अन्य सहरको तुलनामा बढी पूर्वाधारको सुविधा भएको उपत्यकामा बसाइँ सरी आउनेहरुको संख्या बढ्दै जाँदा घरजग्गा कारोबारमा पनि उल्लेख्य वृद्धि भएको हो ।
अहिले उपत्यकाका तीनवटै जिल्लामा उच्च रुपमा घरजग्गा किनबेच भएको तथ्याङ्कले देखाएको छ । काठमाडौं, ललितपुर र भक्तपुरमा घरजग्गा किनबेच बढ्दो रहेकाले उपत्यकाको घरजग्गा किनबेचको हटस्पट बन्दै गएको छ ।
उपत्यकाका तीन जिल्लामा विगतमा एक वर्षमा हुने कारोबार संख्या यस वर्ष ९ महिनामै पूरा भएको छ । विगतका वर्षमा औसत ८० हजारको हाराहारीमा घरजग्गा कारोबार हुने गरेकोमा चालु आवको ९ महिनामै करिब ८० हजार घरजग्गा कारोबार भइसकेको छ ।
आर्थिक वर्ष २०७५÷७६ मा उपत्यकामा ७५ हजार १४७ किनबेच भएको थियो । त्यस्तै, आव २०७६/७७ मा ८० हजार ६४८ र आव २०७७/७८ मा ७८ हजार ५५४ घरजग्गा किनबेच भएको थियो ।
तर, चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्ममा उपत्यकामा मात्रै ७९ हजार ५४० घरजग्गा किनबेच भएको छ । जुन उक्त अवधिमा हालसम्मकै उच्च हो । साथै, एक आर्थिक वर्षमा किनबेच हुने संख्याभन्दा पनि बढी ९ महिनाको अवधिमै किनबेच भएको देखिन्छ ।
९ महिनाको अवधिमै उपत्यकामा करिब ८० हजारको हाराहारीमा घरजग्गा किनबेच भएको अवस्थामा यहीअनुसार कारोबार भए यो वर्ष १ लाख बढी हुने विभागको भनाइ छ ।
लगनखेल र भक्तपुरमा बढ्दो आकर्षण
उपत्यकाको तीन जिल्लामध्ये पछिल्लो समय ललितपुर र भक्तपुरमा घरजग्गा किनबेचको बढ्दो आकर्षण रहेको छ ।
ठमाडौंमा जग्गाको भाउ छोइनसक्नु र जग्गा पर्याप्त नहुँदा ललितपुर भक्तपुरतर्फ मानिसको आकर्षण बढेको हो ।
अहिले ललितपुर र भक्तपुरमा मात्रै मासिक २ हजारभन्दा बढी घरजग्गा किनबेच हुने गरेको विभागको तथ्याङ्कले उल्लेख गर्दछ । विभागको अनुसार चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा ललितपुरबाट मात्रै १८ हजार ७४५ घरजग्गा किनबेच भएको छ । ललितपुर मालपोत कार्यालयबाट १८ हजार ४४६ र गोटीखेल लगनखेलबाट ४४६ वटा घरजग्गा किनबेच भएको छ ।