इन्स्टाग्राममा २० हजारभन्दा बढी अकाउन्ट ह्याक
वि.सं.२०८३ जेठ २६ मंगलवार १५:१४
shares

काठमाडौं, २६ जेठ । सामाजिक सञ्जाल कम्पनी मेटाको गम्भीर कमजोरीका कारण २० हजारभन्दा धेरै इन्स्टाग्राम अकाउन्टहरू ह्याक भएको छ ।
मेटाले सरकारी नियामक निकायलाई दिएको औपचारिक जानकारी अनुसार, कम्पनीले अकाउन्ट रिकभर गर्न बनाएको एआई च्याटबोटमा आएको खराबी (बग) को फाइदा उठाउँदै ह्याकरहरूले साइबर आक्रमण गरेका हुन् ।
यसमा उच्च–प्रोफाइल अकाउन्टहरू पनि प्रभावित भएको दाबी आएको छ, जसमा अमेरिकी पूर्वराष्ट्रपति ब्याराक ओबामाको पालाको ह्वाइट हाउस अकाउन्ट, बहुराष्ट्रिय ब्युटी ब्रान्ड ’सेफोरा’ र अमेरिकी स्पेस फोर्सका एक वरिष्ठ अधिकारीको इन्स्टाग्राम अकाउन्ट समेत ह्याक भएको दाबीसहित समाचार आइरहेका छन् । तर मेटाले यस्ता केही दाबी असत्य रहेको दाबी बीबीसीसँग गरेको छ ।
मेटाले इन्स्टाग्राम प्रयोगकर्ताहरू आफ्नो अकाउन्टबाट ’लग–आउट’ हुँदा मद्दत पुगोस् भनेर ’हाई टच सपोर्ट’ नामको एउटा एआई–सपोर्ट टुल सुरु गरेको थियो । यसको काम प्रयोगकर्ताको अनुरोधमा पासवर्ड रिसेट गर्ने लिङ्क इमेलमा पठाइदिने हुन्थ्यो ।
यही एआई बटको कोडिङमा भएको एउटा आन्तरिक खराबीका कारण एआईले माग गरिएको इमेल ठेगाना र असली अकाउन्टको इमेल ठेगाना एउटै हो कि होइन भनेर जाँच्नमा ख्याल गरेन ।
ह्याकरहरूले यही कमजोरी समाते र उनीहरूले एआई बटसँग पासवर्ड रिसेटको लिङ्क मागे र अकाउन्टसँग कतै सम्बन्धै नभएको आफ्नै नयाँ इमेल ठेगाना राखिदिए । एआईले पनि बिनाकुनै जाँच पासवर्ड रिसेट गर्ने लिङ्क ह्याकरको इमेलमा पठाइदियो ।
मेटाका अनुसार यो साइबर आक्रमण गत अप्रिल १७, २०२६ मै सुरु भइसकेको थियो, तर कम्पनीले यसलाई मे ३१ मा मात्र पत्ता लगाउन सक्यो । झण्डै डेढ महिनासम्म ह्याकरहरूले प्रभावित अकाउन्टहरूका गोप्य म्यासेज, कन्ट्याक्ट विवरण र जोडिएका अन्य सेवाहरूमा पहुँच बनाएका हुन सक्छन् ।
विशेष गरी जसले आफ्नो अकाउन्टमा ’टु–फ्याक्टर अथेन्टिकेसन’ अर्थात् पासवर्डबाहेक फोनमा कोड आउने अतिरिक्त सुरक्षा सेटिङ अन गरेका थिएनन्, उनीहरूका अकाउन्ट मात्र ह्याक भएका छन् ।
बीबीसी र रोयटर्सका अनुसार, मेटाले यो कमजोरी समाधान गरिसकेको जनाएको छ । कम्पनीले प्रभावित प्रयोगकर्तालाई सूचना दिने काम पनि थालेको बताइएको छ ।
मेटाका लागि डाटा लिक भएको यो पहिलो घटना भने होइन । यसअघि सन् २०१८ मा २ करोड ९० लाख फेसबुक अकाउन्ट लिक हुँदा र पासवर्ड सुरक्षित रूपमा नराख्दा आयरल्यान्डको डाटा सुरक्षा आयोगले मेटालाई करोडौं युरो जरिवाना गराएको थियो ।













