Mangaldeep Aagarbatti
GBIME

गैँडाकोटका महिलाकाे एकै स्वर– ‘लघुवित्त हाम्रो सहारा हो’

1.87K
shares

गैँडाकोट, १ चैत । गैँडाकोटका लघुवित्त संस्थामा आवद्ध महिलाहरुले लघुवित्त आफ्नो सहारा भएको बताएका छन् । नेपाल लघुवित्त बैंकर्स संघले आयोजना गरेको वित्तीय साक्षरता राष्ट्रिय अभियान एवं सचेतना र्‍यालीमा गाउँगाउँबाट आएका महिलाहरुले लघुवित्त महिलाहरुको आड र भरोसाको माध्यम भएको बताएका हुन् ।

गैँडाकोट नगरपालिका भित्र कार्यरत १३ वटा लघुवित्त संस्थामा आवद्ध लघुवित्तकर्मी एवं सदस्यहरुले भृकुटीचोकदेखी कार्यक्रमस्थल फेम्ली क्याफेसम्म र्‍याली समेत निकालेका थिए । गाउँगाउँबाट र्‍यालिमा सहभागि लघुवित्तकर्मी एवं ऋणी सदस्यहरुले ‘उद्यमी बन्न बढाऔँ हाम्रो हात, लघुवित्त वित्तीय संस्थाले दिईरहनेछन् हाम्रो साथ’, जबसम्म लघुवित्त वित्तीय संस्था रहन्छ, हाम्रो व्यवसाय चलिरहन्छ’, ‘लघुवित्त हामीलाई चाहिन्छ, लघुवित्त हाम्रो साहारा हो’, ‘वित्तिय अराजकता बन्द गर’, ‘प्रतिस्पर्धामा ऋण नलिउँ’, ‘कर्मचारीको जीउधनको सुरक्षा गर’, ‘लघुवित्तकर्मी जनताका सेवक हुन’, ‘लिएको कर्जाको सहि सदुपयोग गरौँ’ लगायतका प्लेकार्ड बोकेका थिए ।

र्‍यालीपछि आयोजित कार्यक्रममा गण्डकी प्रदेशका सांसद महेन्द्रध्वज जिसीले महिलाको व्यक्तित्व विकासमा लागि लघुवित्तले ठूलो भूमिका खेलको बताए । गलत ढंगले जनता परिचालन गर्दा ठूलो क्षति व्यहोर्नुपर्ने तर्क गर्दै ऋण मिनाहा गर्ने विषय केही व्यक्तिहरुले आफ्नो स्वार्थ पुरा गर्नका लागि मात्रै आएको उनको भनाइ थियो । ‘एक दुई जना मान्छेले आफु हिरो हुनलाई गरेको प्रपञ्च हो, यस्तो कार्यको पछि नलाग्न म सबैलाई आग्रह गर्दछु,’ उनले भने ।

ऋण मिनाहा हुने भए आफु सदस्य बन्न तयार रहेको जनाउँदै लिएको ऋण कहिल्यै मिनाहा नहुने उनको भनाइ थियो । गैँडाकोट नगरपालिकाका नगर प्रमुख मदनभक्त अधिकारीले आवश्यक ऋण लिने र समयमा तिर्ने गर्दा समस्या नआउने बताए । लागानीकर्तालाई समेत उनले मर्यादित र व्यवस्थित रुपमा लगानी गर्न आग्रह गरे । लघुवित्तल संस्थाले आफ्ना सदस्यलाई सक्षम बनाउनका लागि पनि ध्यान दिनु पर्ने उनको भनाइ छ ।

गैँडाकोटका नगर उपप्रमुख शान्ति कोइरालाले लघुवित्तमा महिला बढी आवद्ध रहेको भन्दै उनीहरुको आर्थिक, राजनीतिक एवं सामाजिक स्तर माथि उकास्न एवं सशक्तिकरणका लागि लघुवित्त सारथी बनेको बताए । सदस्यलाई ऋणीको रुपमा नभई परिवार सदस्यका रुपमा हेर्न वित्तीय संस्थालाई आग्रह समेत गरिन् ।

कार्यक्रममा नेपाल लघुवित्त बैंकर्स संघका निवर्तमान अध्यक्ष बसन्तराज लम्सालले लघुवित्तबाट सहज रुपमा रकम पाउदा धेरै लिएकाले सकस्या देखिएको बताए । लघुवित्तले सहजरुपमा गाउँमा नै पुगेर ऋण लगानी गर्दा सदस्यले धेरै पैसा लिए । त्यसको सदुपयोग गर्न नसक्दा अहिले समस्या उत्पन्न भयो,’ उनले भने । कोभिड, वर्तमान आर्थिक मन्दी पनि कारक भएको भन्दै उनले सदस्यलाई सहज गराउन केही समय दिन सकिने तर त्यसका लागि राष्ट्र बैंकले अनुमति दिनुपर्ने बताए ।

लघुवित्तले नियम विपरितका कार्य गरे राष्ट्र बैंकले नियमन गर्ने बताउँदै अफवाहको पछि नलाग्न पनि सबैलाई आग्रह गरे । लघुवित्त संस्था खारेज गर भन्नुको अर्थ र विकल्पबारे प्रश्न गर्दै उनले भने, ‘लघुवित्त वित्तीय संस्थाहरुले बढी ब्याज लिएको भन्ने यथार्थ होइन् ।’ अहिले लघुवित्तले १५ प्रतिशत ब्याज र १.५ प्रतिशत सेवा शुल्क लिएको जनाउँदै त्यो भन्दा बढी लिएको भए संघमा खबर गर्न पनि उनले आग्रह गरे ।

नेपाल लघुवित्त बैंकर्स संघका सचिव केशव पौडेलले घरको चुल्हो चौकामा सिमित महिलाहरुलाई आत्मनिर्भर बनाउने काममा लघुवित्तले सहयोग गरेको दाबी गरे । ग्रामिण क्षेत्रमा वित्तीय साक्षरता प्रदान गर्नका लागि पनि लघुवित्तले ठूलो भूमिका खेलेको उनको भनाइ थियो । त्यस्तै विजय लघुवित्त वित्तीय संस्थाका सञ्चालक खेमराज सापकोटाले वित्तीय कारोबार हरेक नागरिकका लागि आवश्यक भएको तर त्यसको व्यवस्थापन गर्ने कुरा निकै महत्वपूर्ण रहेको भन्दै लघुवित्तले त्यो काम गरिरहेको बताए । वाणिज्य बैंक र राष्ट्र बैंकले कम ब्याजमा ऋण दिने हो भने लघुवित्तले अझै कममा ऋण उपलब्ध गराउन सक्ने उनको भनाइ थियो ।

नेपाल लघुवित्त बैंकर्स संघका सदस्य प्रविणकुमार लामाले लघुवित्त बिना ग्रामिण क्षेत्रमा आर्थिक कारोबार ठप्प हुने बताउँदै समुदायमा भएको भ्रम हटाउन जरुरी रहेको धारणा व्यक्त गरे । लघुवित्तका ऋणी एवं सदस्यहरुका तर्फबाट बोल्दै राधिका उपाध्यायले संस्थाले पैसा मात्र उठाउने नीति मात्र नभई सदस्यको व्यवसाय सफल बनाउनतर्फ ध्यान केन्द्रीत गर्नु पर्ने बताइन् । सदस्यको सीप विकासका लागि पनि लघुवित्तले ध्यान दिनु पर्ने उनको भनाइ थियो । त्यस्तै अर्का सदस्य कल्पना पन्तले ‘लघुवित्त छ त हामी छौं, हामी छौँ त लघुवित्त छ’ भन्दै सकेसम्म ब्याजदर र सेवा शुल्क कम गर्न आग्रह गरिन् । त्यस्तै कमला शर्माले लघुवित्तमा आवद्ध भएपछि स्थानीय तहको नेतृत्व तहमा महिला सक्रियता बढेको दाबी गरिन ।

लघुवित्त संस्थाहरुसँग आवद्ध सदस्यहरुका लागि नेपाल लघुवित्त बैंकर्स संघले गत शनिबारदेखि चितवनबाट वित्तीय साक्षरता राष्ट्रिय अभियान शुरुवात गरेको हो । संघले अन्य जिल्लामा समेत क्रमिक रुपमा अभियान सञ्चालन गर्ने जनाएको छ ।

National life Banner