बंगलादेशमा अध्ययनरत विद्यार्थीको सहजताका लागि ‘हेल्प डेस्क’
वि.सं.२०८१ असोज ३ बिहीवार १०:३९
shares
काठमाडौं, ६ साउन । परराष्ट्र मन्त्रालयले बंगलादेशमा विकसित पछिल्लो घटनाक्रमका कारण समस्यामा परेका नेपाली विद्यार्थीको सहयोगका लागि ‘हेल्प डेस्क’ स्थापना गरेको छ । मन्त्रालयले शनिबार सूचना जारी गर्दै त्यहाँ रहेका विद्यार्थीको सहजताका लागि आवश्यक सम्पर्क व्यक्तिसहित हेल्प डेस्कको व्यवस्था गरिएको जनाएको छ ।
समस्यामा परेका विद्यार्थी तथा अभिभावक एवं आफन्तका लागि आवश्यक जानकारी, सहयोग र सहजीकरणका लागि मन्त्रालयले निर्धारण गरेको इमेल वा फोन नम्बरमा सम्पर्क गर्न एवं अनलाइन फाराम भर्न मन्त्रालयले अनुरोध गरेको छ ।
सम्पर्कका लागि नेपाली दूतावास ढाकामा द्वितीय सचिव योजना बम्जन र रिया क्षेत्री तथा सिंहदरबारस्थित मन्त्रालयमा सम्पर्कका लागि शाखा अधिकृत महेश्वरमणि त्रिपाठीलाई सम्पर्क गर्न आग्रह गरेको छ । त्यसका अतिरिक्त भविष्यमा पुनः सहयोग आवश्यक पर्नसक्ने सन्दर्भमा आफू अध्ययनरत विश्वविद्यालय, कलेज वा शैक्षिक संस्थाको नाम र ठेगाना मन्त्रालयलाई जानकारी गराइदिनसमेत अनुरोध गरिएको सूचनामा उल्लेख छ ।
यसैबीच, हालसम्म झन्डै आठ सय नेपाली विद्यार्थीले बंगलादेश छाडेका छन् । उनीहरू हवाई वा स्थलमार्ग हुँदै नेपाल आउन लागेका हुन् । बंगलादेशका विभिन्न स्थानबाट ढाका विमानस्थल वा सम्बन्धित सीमा नाकाहरूमा सुरक्षित यात्राका लागि समन्वय गरिएको परराष्ट्रले जनाएको छ । बंगलादेशमा कोटा प्रणालीको विरोधमा हिंसा भड्किएपछि तनाव सिर्जना भएको छ । नेपालले त्यहाँ अध्ययन गर्दै आएका नेपाली विद्यार्थीलाई ल्याउने प्रयास सुरु गरेको छ ।