हिरोको बाको भुमिकामा अभिनय गर्न मन छ राजेशकाजी श्रेष्ठलाई
वि.सं.२०८० भदौ १२ मंगलवार १०:२८
shares

जे गरेँ ठिक गरेँ भन्छन् उद्यमी राजेशकाजी श्रेष्ठ । जीवनप्रति कुनै गुनासो छैन उनको । पूर्वमन्त्रीसमेत रहेका श्रेष्ठ त्यस्ता व्यक्ति हुन् जो भिडभाड र होहल्लामा इन्ज्वाई गरिरहेका छन् । मोबाइल फोनलाई सबै भन्दा ठूलो दुस्मन ठान्ने श्रेष्ठको प्रिय चिज पनि त्यहि हो । उनको बुझाईमा उद्यमी व्यवसायीले राज्यलाई कर तिरेर रोजगारी उपलब्ध गराएका छन्, तर, सरकारले उद्योगीका समस्या महसुस् गरेको छैन । सरकारी कर्मचारीका तजबिजी शैलिले उद्योगी व्यवसायी हैरान भएको देखेका श्रेष्ठ कलाकारको जीवनशैलिबाट लोभिएका छन् । एउटा राम्रो चलचित्रका लागि कुनै निर्देशकले हिरोको बाको भुमिकामा अडिसन लिइदिए हुन्थ्यो भन्छन् उनी । नेपाल चेम्बर अफ कमर्शका पूर्वअध्यक्ष समेत रहेका श्रेष्ठ आफुलाई बिन्दास व्यवसायीको कोटीमा राख्छन् । उनैसंग गरिएको गफगाफ :
जीवनप्रति कुनै गुनासो छ ?
जीवनप्रति गुनासो चाँही छैन । कहिले काँही म आफै सोच्छु । यो नगरेर त्यो गरेको भए राम्रो हुन्थ्यो कि । फेरि लाग्छ जे गरेँ ठिक गरेँ । भन्छन् नि ‘जो होगा अच्छेके लिए होगा । जे हो राहा अच्छेका लागि हो रहा ।’ अहिले मैले सिकाएकै कतिपय मान्छे आर्थिक रुपमा म भन्दा धेरै अगाडी छन् । म पनि उनीहरु जस्तै लागेको भए अहिले बैंकको लोन, ब्याज वा अरु त्यस्तै चक्करमा हुन्थे होला । कपाल अझै सेतो हुन्थ्यो होला ।
त्यस किसिमको भाग दौडबाट किन पछि पर्नु भो ?
म पहिल्यैदेखी टेन्सनमुक्त भएर काम गर्न चाहने मान्छे । ‘थोडा खाना बनारस जाना’ भन्ने भनाईबाट प्रेरित मान्छे । पहिला त नेपाल बैंक मात्रै थियो । त्यसको जिएम मेरो बुबाको साथी हुनुहुन्थ्यो । उहाँले भन्नुहुन्थ्यो ‘ओ राजेश के चाहिन्छ आउ ।’ मैले नाई भने गइन । धेरै लोन पनि नलिने धेरै टेन्सन पनि नलिने । आफुसंग जे जति छ त्यसैमा रमाउने गरेँं । होलसेल ब्यापार गरेका थिएँ त्यसैमा रमाएँ ।
भनेपछि आफ्नो कामबाट सन्तुष्ट हुनुहुन्छ ?
एकदमै सन्तुष्ट छु । म जस्तो खुसी र आरामदायी मान्छे पाउन गा-हो छ ।
ब्यापारी उद्योगपति भन्ने शब्द कस्तो लाग्छ ?
मलाई यो शब्द मनै पर्दैन । न इज्जत छ, न स्टाटस छ न सम्मान छ । यसो कहिले काँही लाग्छ । बरु फिल्मको हिरो भएको भए हुन्थ्यो होला । सरकारी कर्मचारी भएको भए केही हैषियत हुन्थ्यो होला । डक्टर, इन्जिनियर वा नेता भएको भए हुन्थ्यो होला । हामी यो देशमा ब्यापार गर्छौ, राज्यलाई कर तिर्छौ, कति मान्छेलाई रोजगारी दिएका छौं । तर, हामी गएको ठाउँमा चार जना मान्छे आउदैन ।
मेरो एकदुई जना साथीहरु भन्थे । पहिला पहिला एक करोड छ भने ७० लाखको कारोबार गथ्र्यौ ३० लाखले अरु काम चलाउथ्यौ । आनन्द थियो । अहिले एककरोड भयो भने सय करोडको काम गर्न खोज्छौं अनि राती निन्दा लाग्दैन राक्सि खाएर सुत्नु पर्छ ।
हिरोको क्रेजको कुरा गर्नु भयो । उमेरमा हिरो हुने रहर लागेन ?
उमेरमा हैन अहिले चाँही रहर लागेको छ । हिरो त हैन हिरोको बाको रोलमा काम गर्न मन छ । केही फिल्म डाइरेक्टर साथीहरुलाई भनेको पनि छु । राम्रो रोल भयो भने हिरोको बाबुको रोलमा खेल्छु । भिलेन चाँही हुन्न ।
भनेपछि भोली कसैले राम्रो स्क्रिप्ट लिएर आयो भने तपाइलाई फिल्ममा पनि देख्छन् दर्शकले ?
म जर्बजस्ती गर्दिन । यदि कुनै डाइरेक्टरले मेरो अडिसन लिएर मेरो हिँडाई, बोलाई र एक्सन ठिक छ भन्यो भने म अभिनय गर्छु ।
मलाई यो उद्यमी व्यवसायी भन्ने शब्द मनै पर्दैन । न इज्जत छ, न स्टाटस छ न सम्मान छ । यसो कहिले काँही लाग्छ । बरु फिल्मको हिरो भएको भए हुन्थ्यो होला
दिनमा कतिघन्टा फोनमा कुरा गर्नुहुन्छ होला ?
मोबाइल त मेरो सबै भन्दा ठूलो दुस्मन हो । बरु केही नभए हुन्छ, यदि कसैको फोन आएन भने मलाई सक सक लाग्छ फोन गर्न मन लागिहाल्छ । मोबाइल आउनु भन्दा पहिला ल्याण्डलाईन टेलिफोनमा पनि उस्तै कुरा हुन्थ्यो ।
बिहान क्लबबाट आएपछि त्यहि मोबाइल समाउने हो म्यासेज हे-यो, फोन ग-यो । त्यहि मोबाइमा दुनिया छ यसो सामाजिक सञ्जाल हे-यो । राम्रा कुरा छ भने शेयर ग-यो बस ।
कहिले काँही लाग्दैन यो मोबाइल नभएको भए कति रमाईलो हुन्थ्यो ?
आहा । त्यो जस्तो रमाइलो त के होला र कहिले काँही लाइन नहुँदा वाईफाइ नहुँदा र फोन नबज्दा कति रमाइलो लाग्छ ।
यो सब चिज छाडेर एकान्तमा बसौं जस्तो लाग्दैन ?
त्यो चाँही म सक्दिन । सबै साथी भाइसंग हल्लो हाइ गरेर बस्नु पर्ने मान्छे । त्यसरी एकान्तमा बसेँ भने त मलाई तनाब हुन्छ । स्कुलमा हामी ७ कक्षामा पढ्दा सरहरुले सोध्नु हुन्थ्यो ठूलो भएपछि के बन्ने । म चाँही जहिले पनि साथी भाई कमाउने भन्थेँ ।
यो भागदौडमा इन्ज्वाई गरिरहनु भएको छ ?
अँ म यसैमा इन्ज्वाई गरिरहेको छु । यसैमा मज्जा छ ।
रेडियो सन्नुहुन्छ ?
रेडियो सुन्छु । प्राय पुराना गीतहरु सुन्छु । अहिले नेपाली गीतहरु पनि सुन्न थालेको छु ।
तपाइले थाहा पाउदा घरमा कस्तो रेडियो थियो ?
पहिला पहिला कालो ठूलो रेडियो हुन्थ्यो । पछि सानो आयो । टिभी ल्याएपछि चाँही घरमा उत्सव जस्तै हुन्थ्यो । टिभीमा रामायण आउथ्यो । रामायण हेर्नका लागि छिमेकीहरु आउनुहुन्थ्यो । हाम्रो बैठक कोठा छिमेकीले भरिन्थ्यो । त्यो दृष्य सम्झदा मलाई अहिले पनि आनन्द आउछ ।
त्यति बेला टिभी बेला बेला डिष्टर्ब भैरहन्थ्यो । झ्यार्र झ्यार्र गर्ने बित्तिकै एकजना कौशीमा गएर एन्टेना मिलाउथे । तल बस्नेहरुले टिभी हेरेर भयो भयो… भन्ने चलन थियो ।
टिभी चाँहि कुन थियो ?
पहिला पहिला नेपालमा २६ इन्चको फिलिप्स र २७ इन्चको सोनी टिभी आउथ्यो । सबै भन्दा धेरै टिभी ल्याउने मै होला । काठको बाक्सा भएको २७ इन्चको टिभी म एक्लै उचाल्थेँ ।
अडियो चक्का किनेर गीत सुन्नु भयो कि भएन ?
त्यो पनि धेरै ल्याए तर, बिक्रीका लागि । पानसोनिस र सोनीको चक्का आउथ्यो । मैले गीत चाँहि सुनिन । आशोको प्रवचन खुब सुनेँ । गीत चाँहि पहिल्यैदेखी मुकेश र रफिको सन्थेँ । अहिले पनि बिहान ¥याडिसन क्लबमा इन्टरटेनमेन्ट गराउने नै मै हो । बिहान गएर गीत बजाउने मै हुँ । अहिले चाँही मोबाइलबाट बजाउछु । अहिले म नगएको दिन राजेश नआएकाले इन्टरटेनमेन्ट नै गर्न पाइएन भन्छन् साथीहरु ।
गोजिमा रुमाल बोक्नु हुन्छ ?
पहिला बोक्थेँ । पछि गाडीमा टिस्यु पेपर हुन्थ्यो बोक्न छाडेँ । अहिले फेरि रुमाल बोक्न थालेको छु । खै बुढो भएर हो कि क्या हो ।
गोजिमा काइयो बोकेर हिँड्नु भयो कि भएन ?
कलेज पढ्दा काइँयो गोजिमा हालेर हिँडे । हामी कलेज पढ्दा अहिले जस्तो ब्याग बोकेर जाने चलन थिएन । गोजीमा पछाडी एउटा कपि बोक्ने चलन हुन्थ्यो । त्यो पनि अरुले देख्ने गरि । पब्लिक युथ क्याम्पस पढ्दा मैले पनि एउटा गोजीमा कपी र एउटा गोजीमा काइयो बोकेर हिँडे ।
स्कुल कलेजका कति जना साथी नियमित सम्पर्कमा छन् ?
स्कुल चाँही मैले १ देखी १० कक्षासम्म भानुभक्त स्कुल पढेँ । १२ जना केटा ६ जना केटी थियौं । अहिले भाइबरमा स्कुलका १० जनाको ग्रुप छ । कलेजको ग्रुप पनि छ । मेरो चाँही पब्लिक युथ कलेजका मेरै ब्याजका भन्दा पनि सिनियरसंग संगत भयो । सिनियरहरुले गर्ने कार्यक्रममा मलाई पनि बोलाउन थाले ।
तपाइका पाला फन्टुस साथीहरु अहिले कहाँ छन् ?
तीन जना थियौं । दिपक सिंह, मोती पाण्डे भन्ने थिए । तीन जना नामुद फन्टुस । हाम्रो ल्याबमा सर्प आउथ्यो । जिउदै सर्प तान्थे साथीहरु । हाम्रो ल्याबमा तिनले ल्याएका सर्प अहिले पनि छ । एकजना सर हुनुहुन्थ्यो देबकोटा सर भन्थ्र्यौ । उहाँ दा-ही पाल्नु हुन्थ्यो । उहाँ हाँस्दा टोलै थर्किन्थ्यो । अनि ति साथीहरु राती गएर सरको दा-हीमा चुइगम टाँसिदिन्थे ।
तपाई र तपाईको कम्पनीमा काम गर्ने कर्मचारी को बढी सुखी ?
डेफिनेट्ली मेरो कम्पनीमा काम गर्ने कर्मचारी सुखी छन् ।
उनीहरुको जीवनशैलि देख्दा लोभ लाग्छ ?
लोभ लाग्दैन । अझ बढी खुसी बनाउन पाए हुन्थ्यो जस्तो लाग्छ ।
एकछिनलाई मानौं, राज्यले एउटा नियम बनायो, निश्चित सम्पत्ति दान गर्नै पर्ने भो । कति दान गर्नु हुन्थ्यो होला ?
दान, सहयोग भन्ने कुरा प्रतिशतमा होइन के का लागि भन्ने हुन्छ । राज्यले भन्दैमा म मात्रै हैन कसैले पनि दिँदैन ।
यदि तपाई बिहान उठ्दा सबै सम्पत्ति राज्यको भयो भने के गर्नुहुन्छ होला ?
कर्ममा जे लेखेको छ त्यहि भोग्ने हो ।
यदि त्यस्तै भयो भने ?
आरामसंग बस्थेँ होला । टेन्सन लिन्न थेँ । मेरो जीवमा त्यस्तो केही हुन्न किन भने मैले सम्पत्ति जफत गर्नुपर्ने कुनै त्यस्तो कुकर्म गरेकै छैन ।
सपनामा विश्वास गर्नुहुन्छ ?
म अलिकति नास्तिक जस्तो भइसकेँ । पहिला पहिला यस्तो पनि थियो । कसैले कुनै ज्योतिषको कुरा गर्ने बित्तिकै अहिल्यै हेर्न जाउ जस्तो लाग्थ्यो ।
राशीफल हेर्नु भयो कि भएन ?
एक समय हेरेँ । राम्रो लेखेको छ भने मख्ख पर्थेँ नराम्रो लेखेको छ भने चाँहि होइन होला जस्तो लाग्थ्यो । राशीफलमा लेखेको जस्तो कहिल्यै भएन पनि । कति पत्रिकामा त पाँच दिन अघि लेखेकै कुरा दोहोरिएको पनि पाएको छु ।
मरेपछि स्वर्ग पुगिन्छ भन्नेमा विश्वास छ ?
त्यतातीर सोचेकै छैन ।
अब के गर्न पाए हुन्थ्यो जस्तो लागेको छ ?
कस्तो लाग्छ भने भारतको साउथतीर गएँ त्यहाँको मन्दिरको भिड देख्दा लोभ लाग्छ । अस्ति भियतनाम गए । त्यहाँ संसारको सबै भन्दा धेरैले मेरिटेशन गर्ने ठाउँ रहेछ । नेपालमा जहाँ बुद्ध जन्मेको छ त्यहाँ खाली छ । जहाँ बुद्धका अनुयायी मात्रै छन् त्यहाँ टेक्ने ठाउँ पनि छैन । चीनमा गएँ त्यस्तै भिड । हाम्रोमा यति धेरै प्राकृतिक सम्पदा छ तर, केही भएको छैन । चीन र भारतसंग समन्वय गरेर पर्यटन भित्र्याउने काम गर्नुपर्छ । लुम्बिनी र पशुपतिमा पर्यटकको भिड लगाउनुपर्छ ।
श्रीमतीको काका चाँही एकातिरबाट मेरा साथी थिए अर्का तिर मेरो आमाको दिदीको ज्वाई पनि पर्थे । त्यहि जाँदा कहिले काँही कौशीमा देखेको थिएँ । हामी ज्याठामा बस्दा मेरो घर अगाडी उनको साथीको घर थियो त्यही आउदा मेरो आमाले देखेर कुरा गर्नु भएको रहेछ ।
पारिवारिक कुरा गरम न दाईको विवाह मागी कि प्रेम ?
मागी विवाह । म त ब्यापार गर्ने सोझो मान्छे । म परिवारको जेठो छोरो आमालाई छोराको विवाह गर्न असाध्यै धेरै रहर लागेको थियो । म चाँही नाई नाई बिहे गर्दिन भन्थेँ । आमाले फोटो देखाउनु हुन्थ्यो । म फोटो हेरेर बिहे गर्दिन भन्थेँ ।
कति जनाको फोटो हेर्नु भो ?
एक त मलाई आमाले फोटो कमै देखाउनु हुन्थ्यो । बिहेको कुरा गर्ने बित्तिकै म गर्दिन भनिहाल्थेँ । म रिसाहा पनि थिएँ । दुई तीन जनाको त हेरेँ होला ।
भाउजुसंग पहिलो भेट याद छ ?
श्रीमतीको काका चाँही एकातिरबाट मेरा साथी थिए अर्का तिर मेरो आमाको दिदीको ज्वाई पनि पर्थे । त्यहि जाँदा कहिले काँही कौशीमा देखेको थिएँ । हामी ज्याठामा बस्दा मेरो घर अगाडी उनको साथीको घर थियो त्यही आउदा मेरो आमाले देखेर कुरा गर्नु भएको रहेछ । पहिला त मैले नाई नाई भनेर फुर्ति गरेको थिएँ । पछि त विवाह गरेँ ।
बिहेको कुराकानी भएपछि घुम्न जानु भयो ?
एक पटक गएँ । त्यो पनि लजाई लजाई धुलिखेल गयौं ।
गाडीमा कुरा गर्दै जानु भयो कि नबोली नबोली ?
हाम्रो पालामा अहिले जस्तो कहाँ थियो र लजाई लजाई गयौं । फेरि मलाई अहिले जस्तो गफ गर्न आउदैन थियो । अहिले सम्झँदा आँट गरेर गएँ जस्तो लाग्छ ।
भाउजुले तपाईले बढी माया गर्नु हुन्छ कि तपाईले ?
उनले भन्दा आफुले बढी गरेको भन्लिन् । मैले भन्दा मैले बढी गरेको भन्छु ।
तपाईको एउटा खराब बानी, अनि भाउजुको ?
मेरो खराब बानी भनेकै मोबाइल फोन हो । सत्रु भनेकै मोबाइल फोन । म जहाँ लुगा फे-यौ त्यहि छोडदिन्छु । उनले चाँही फोहोर देख्नै सक्दिनन् । मेरो बानी त्यही हो म जुत्ताको धुलो पनि नटक्टक्याई भित्र पस्छु । श्रीमतीले कचकच गर्छिन् उनको कर्कट राशी करकर गरिरहन्छन् भन्छु, वस्तै गर्दिन ।
परिवारका सबै सदस्य एकै ठाउँमा बसेर खाना नखाएको कति वर्ष भयो होला ?
धेरै भैसक्यो । कहिले छोरा र म संगै हुन्छौ । कहिले काँही श्रीमती र म संगै हुन्छौं । धेरै जसो म एक्लै खाएर निस्कन्छु ।
पारिवारिक जमघट चाडबाड बाहेक अरु बेला हुन्छ कि हुन्न ?
धेरै कम भैसक्यो । पहिलो जस्तो रहेन । पहिला पहिला नेवार बिग्रियो भोजले राणा बिग्रियो मोजले भन्थे । अहिले स्थिती फरक भैसक्यो । ल अस्ति भर्खरको नागपञ्चमीकै कुरा गरौं न । पहिला पहिला नाँगपञ्चमीमा घरका सबै ढोकामा नाग टाँस्ने चलन हुन्थ्यो । अहिले दुईटा ढोकामा टाँसियो । त्यो पनि मेरो श्रीमती धार्मिक भएकाले ।
अघि नै गुनासो छैन भन्नु भयो । केही गुनासो त पक्कै होला ?
व्यवसायिक कुरा गरौं ?
हुन्छ भन्नुस ।
मलाई युवा पुस्ता विदेश गएर नफर्किएकोमा सा-है नमज्जा लाग्छ । मैले छोरा छोरी विदेश गएर उतै सेटल नहोउन् भनेर अमेरिका र अष्ट्रेलिया पठाइन । छोरा छोरीलाई पहिला इण्डियामा पढाएँ पछि बैंककमा पढाएँ । ठूलो छोरा र छोरीलाई पछि युकेमा पढाएँ । युकेमा बस्दैनन् भनेर पठाएको हुँ । कहिले काँही लाग्छ । बरु अमेरिका पढाएको भए पो हुन्थ्यो कि जस्तो लाग्छ ।
नेपालमा ब्यापार गर्न कति गा-हो छ बरु एउटा रिसर्च गरिदिनुस् न तपाईहरु मिलेर । दर्ता प्रकृयादेखी नै कति गा-हो छ नवीकरण गर्दा के हुन्छ । बैंकलाई कति गा-हो छ सामान आएपछि भन्सारमा के हुन्छ । फेरि भन्सारले ओके गरेर पठाएको अर्को निकायले के गर्छ ।
हाम्रो निती नै हाकिमको तजबिजमा हुने भएकाले काम भन्दा टेन्सन धेरै हुन्छ । २/३ जना कर्मचारी त राजस्व, भन्सार र बैंक धाउनकै लागि राख्नु पर्ने वाध्यता छ ।
नेपालमा व्यवसायमैत्री निती कहिले आउला ?
कहिल्यै आउदैन ।
तस्विर/भिडियो : राेजिना काप्री, उज्जल पौडेल





















