GBIME
Machhapuchhre

लघुवित्तको ऋणले लडायो अनि उठ्न सिकायो

1.74K
shares
NCHL Banner

काठमाडौं, १७ कात्तिक । एकल महिला हुन् पार्वती कट्टेल । आम महिला दिदी बहिनीका लागि उनको मुस्कान नै प्रेरणा बनेको छ अहिले । निर्धक्क खुलेर कुरा गर्ने पार्वतीको मुहारमा यो मुस्कार फक्रिन थालेको धेरै भएको छैन । हँसिली चेहराकी पार्वती कुनै बेला आत्महत्या गर्ने उपाय खोज्दै थिइन् । खुल्ला दिलकी कट्टेल बिगत कत्ति पनि लुकाउदिनन् ।

दोधारा चाँदनी वडा नम्बर ५ कि पार्वतीको दोधारा चाँदनी नगरपालिका छेवैमा ‘सान्वी नास्ता’ पसल छ । । खाना, नास्ता, चियालगायतका परिकार बन्छन् उनको दोकानमा । अन्य आगन्तुक त छँदैछन् नगरपालिकामा कार्यरत कर्मचारीले नियमित खाना खाजा खाइदिँदा उनलाई राम्रै राहत मिलेको छ । ‘नगरपालिकाका सरहरुले मलाई निकै सहयोग गर्नु भएको छ । आउनुहुन्छ खाजा खानु हुन्छ दिदी भनेर बोलाउनु हुन्छ ।’ नगरपालिकाका कर्मचारीले नियमित खाजा नास्ता खाइदिँदा आर्थिक पाटो बलियो भएको कुरा गरिन् ।

यति फरासिली दिदी आत्महत्यासम्म गर्ने सोचमा किन पुगिन् होला ? हाँस्दै भन्छिन् ‘पहिला संस्थाबाट ऋण लिएँ । संस्थाका सरहरु पैसा माग्न घर आउन थाले तिर्ने उपाय नभएपछि मरौं कि जस्तो लाग्यो ।’

जति बेला उनले ऋण लिइन् । ऋण लिएपछि कहाँ, कसरी लगानी गर्ने राम्रो संग थाह थिएन । कागजपत्रमा ल्याप्चे लगाएपछि ऋण पाइने भयो, लिइन् । श्रीमान छैनन् । छोरा छोरै सानै, भर पर्दो आम्दानी पनि थिएन । ब्याज बढ्दै जाने ऋण नतिर्ने गरेपछि संस्थाका प्रतिनिधीहरु घरमै आउन थाले पैसामा माग्न ।

पार्वती जस्तै अरु चार जना महिला पनि थिए । संस्थाबाट ऋण लिएका तर, समयमा तिर्न नसक्ने सबैको समस्या लगभग उस्तै थियो । संस्थाका प्रतिनिधी आउथे पैसा माग्थे तिर्ने पैसा थिएन । पार्वती भन्छिन् ‘त्यसपछि हामी भाग्न थाल्यौं ।’

घर भन्दा टाढै पथ्र्यो नर्सरी भन्ने ठाउँ । पार्वतीलगायत चारै जना महिला उज्यालो हुने बित्तिकै घरको ढोका लगाएर नर्सरीमा जान्थे र झिमिक्क साँझ परेपछि घर फर्किन्थे । ‘भोकभोकै नर्सरीमा धेरै दिन बस्यौं ।’ नर्सरीमा लुकेर बस्दाको अनुभुति सुनाउदै भनिन् ।

महिलाहरुले दिनभर घर छाडेर नर्सरीमा लुक्न थालेको बीत्तीय संस्थाका प्रतिनिधीले पनि जानकारी पाइसकेका थिए । उनीहरु पनि के कम साँझपख नै आउन थाले । ‘पछि पछि त संस्थाका सरहरु पनि साँझ तिरै घर आउन थाल्नु भो लुकेको कामै लागेन् ।’ पार्वतीले भनिन् ।

स्थानिय महिला र संस्थाका प्रतिनिधीहरुविच लुकामारी जारी थियो । विश्वव्यापी महामारीको रुपमा कोरोना आयो । ऋण दिने संस्थाकै प्रतिनिधीले आएर सम्झाए ‘कोरोना संक्रमण आएको छ एक अर्काको घर नजानु होला सकेसम्म घरमै बस्नु होला ।’

कोरोना संक्रमण व्यापक हुँदै गर्दा महिलाहरुले हाइसञ्चो महसुस् गरे । चार पाँच महिनासम्म किस्ता माग्न कुनै पनि संस्थाका प्रतिनिधी घरमा आएनन् । जब कोरोना संक्रमण अलि कम भयो ‘किस्ता खै त भन्दै वित्तिय संस्थाका प्रतिनिधी दैलोमा आउन थालिहाले ।

कोरोना संक्रणको ग्राफ बढ्दै जाँदा क्वारेन्टिन भरिभराउ थियो । क्वारेन्टिनमा बस्नेहरुलाई भात पकाएर खुवाउने जिम्मा पाइन् पार्वतीले । लगभग चार महिना भात पकाउदा १२ लाख रुपैयाँ कमाई गरिन् । त्यहि पैसाले ऋण तिरिन् । अहिले मिर्मिरे माइक्रोफाइनान्सबाट ऋण लिएकी छिन् । नियमित किस्ता तिर्छिन् ।

पार्वतीलाई लाग्छ । ऋण लिएँ । समयमा तिरिन । कमाएँ फेरि तिरेँ । त्यो भन्दा पनि महत्वपूर्ण कुरा यो अवधिमा उनले धेरै कुरा सिकिन । कसरी, किन र केका लागि ऋण लिने वा ऋण लिएपछि के गर्ने उनलाई कसैले सिकाउनु पर्दैन । आफ्ना छेउछाउका दिदी बहिनीलाई दुई चार बात सिकाउने भएकी छिन् ‘सबै महिला दिदी बहिनीहरुलाई भन्छु जथाभावी ऋण नलिनु, सोच विचार गरेर आफ्नो गच्छे अनुसार मात्रै लिनु ।’

कतिपय व्यक्तिले वित्तिय संस्थालाई गाली गरेको उनलाई मन पर्दैन । वित्तिय संस्थाको आलोचना नबुझ्नेहरुले गरेका हुन् भन्ने लाग्छ उनलाई ‘मैले पनि पहिला संस्थालाई गाली गरेको थिएँ अहिले थाहा पाएँ मैले आफैंले नबुझेको रहेछु ।’ वित्तिय संस्थाले नियम अनुसार सम्झौता गरेर मात्रै ऋण दिएको कुरा गरिन् ।