दिपावलीका लागि यसरी बन्दै छ पाला

5.08K
shares

भक्तपुर २० कात्तिक । तिहारमा विद्युतीय बत्तीको प्रयोग बढे पनि माटोको दियो बाल्ने परम्परा जीवितै छ । तिहार नजिक आउँदै गर्दा माटाको पालाका माग पनि बढ्दै गएको छ  । पालाको माग बढेसँगै भक्तपुरका कुमाले समुदायको व्यस्तता चुलिँदै गएको छ । अहिले पाला बनाउने, सुकाउने र पोलेर तयार गरी बजार पठाउन भ्याइनभ्याइ भएको छ कुमाले समुदायलाई ।

कुमाले समुदाय यो सिजनमा माटाका अन्य भाँडा थाँती राखेर पाला बनाउन व्यस्त छन् । ‘तिहारमा अरु माटाका भाँडा त्यति बिक्री  हुँदैन, अहिले हामी पाला बनाउँदैँ आएका छौँ”, भक्तपुर पोटरी स्क्वायरमा पाला सुकाउन व्यस्त पञ्चमाया प्रजापतिले भने । उनका अनुसार दसँैंमा धुपौरो, कुलिँचाको माग बढेजस्तै तिहारमा पालाको माग बढी हुन्छ ।

तिहारमा लक्ष्मी पूजाका लागि बाहिरी जिल्लाबाट समेत पालाको माग आउने भएकाले गमला, धुपौरो, खुत्रुकेलगायत विभिन्न पर्यटकीय सामग्री बनाउने कामलाई थाँती राखेर पाला बनाउने काममा व्यस्त भएको पञ्चमायाको भनाई छ । ‘बिहान सबेरै उठेर अघिल्लो दिनमै तयार गरी राखेको माटोलाई थप तयार गरी पाला बनाउने, सुकाउने तथा सुकिसकेको पालालाई पालोमा राखेर भट्टीमा पोल्ने र माग अनुसार बजार पठाउने काममा नै व्यस्त छौंँ, अहिले अन्य भाँडाकुँडा बनाउन फुर्सद छैन’ उनले भने ।

पाला बनाउन माटोलाई आवश्यकता अनुसार मेसिनले मुछेर तयार गरिन्छ । आजभोलि प्रविधिले माटोको भाँडा बनाउने पेसा पनि सहज बन्दै गएको छ । मेसिनले नै तयार गरेको माटोलाई विद्युतीय चक्रमा राखेर काँचो पाला तयार गरिन्छ । यसरी बनाएको पालालाई घाममा सुकाइन्छ । सुकेर तयार भएको पालालाई आधुनिक भट्टीमा पोलेपछि पाला पूर्णरुपमा तयार हुन्छ र मागअनुसार बजारमा आपूर्ति गरिन्छ ।

आजभोलि भक्तपुरका पोटरी स्क्वायर (तालक्व)का कुमालेहरु मात्र होइन सुजमारी, लिवाली, तुमुचो, सूर्यविनायक, चोलिंचा, च्याम्हासिहंलगायतमा माटोका भाँडा बनाउने पेसामा संलग्न कुमालेहरु अन्य भाँडा बनाउने कार्यलाई थाँती राख्दै पाला बनाउने कार्यमा सक्रिय छन् ।

धनकी देवी लक्ष्मीको पूजा गर्ने पर्व भएकाले तिहारमा फलफूल, सयपत्री फूलसँगै झिलिमिली बत्ती बाल्ने गरिन्छ । धनकी देवी लक्ष्मीलाई घरमा भित्र्याउन तिहारमा झिलिमिली बत्ती बाल्ने परम्परा रहेको छ । तिहारको लक्ष्मी पूजाका दिन दिपावली गर्न घरको दैलो, झ्याल ढोका, कौशी, बरण्डालगायतका स्थानमा पालाको दियो बाली झिलिमिली पार्ने परम्परा रहेको छ ।

पालाको माग बर्सेनि बढ्दो रहेको कुमालेहरु बताउँछन् । विभिन्न आधुनिक विद्युतीय झिलिमिली बत्ती र मैनबत्तीको दाजोमा सुरक्षित तथा धार्मिक एवं सांस्कृतिक दृष्टिकोणले पालालाई अत्यन्तै उत्तम र पवित्र मानिने भएकाले बजारमा यसको माग बढेको पाला व्यवसायी विनोदकुमार प्रजापति बताउछन् ।

भक्तपुरमा उत्पादन भएको पाला उपत्यकालगायत काभ्रेको बनेपा, धुलिखेल, पनौती, धादिङ, नुवाकोट, पोखरा, चितवन, हेटौँडा, त्रिशूलीलगायतका बजारमा बिक्री हुन्छ ।