मौद्रिक नीतिका केही बुँदामा खतिवडाको संशोधन, अलमलियो केन्द्रीय बैंक नेतृत्व !

वि.सं.२०८१ साउन ४ शुक्रवार १२:३४
shares

काठमाडौं, ४ साउन । मौद्रिक नीतिका केही बुँदामा प्रधानमन्त्री कार्यालयबाटै विशेष चासो आएपछि केन्द्रीय बैंकको नेतृत्व अलमलिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो राजनीतिक सल्लाहकारमा केन्द्रीय बैंकमै लामो समय बिताएका डा. युवराज खतिवडालाई नियुक्त गरेका छन् । पूर्व अर्थमन्त्री समेत रहेका खतिवडा सल्लाहकार नियुक्त भएसँगै खतिवडाले केन्द्रीय बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई बोलाएर केही नीतिगत व्यवस्था ‘ठ्याक्कै यसो गर्नुस्’ भनेर सुझाव दिएका छन् ।
स्वायत्त संस्थाको रुपमा रहेको केन्द्रीय बैंकले बनाउने मौद्रिक नीतिका केही बुँदामा .‘यसो गर्नैपर्छ’ भन्ने गरी सुझाव आएपछि केन्द्रीय बैंक नेतृत्वलाई असहज महसुश भएको छ । केन्द्रीय बैंकका गभर्नर महाप्रसाद अधिकारी तत्कालिन प्रधानमन्त्री ओली र खतिवडा अर्थमन्त्री भएकै बेलामा नियुक्त भएका हुन् । कुनै बेला केन्द्रीय बैंकमै पनि खतिवडा अहिलेका गभर्नर अधिकारीको हाकिम भएर काम गरेका व्यक्ति हुन् । यद्यपि, अधिकारी व्यवसायिकतामा अडिग रहने व्यक्ति हुन् । उनी राजनीतिक भन्दा पनि आर्थिक मुद्दामै केन्द्रीय हुने गरेका छन् ।
आफूलाई गभर्नर बनाएका व्यक्तिबाटै केही सुझाव आएप्छि शुक्रबार सार्वजनिक गर्ने भनेको मौद्रिक नीति अलि पर धकेलिएको छ । अर्थमन्त्री विष्णु पौडेल भने गभर्नरले अधिकारीले राम्रै मौद्रिक नीति ल्याउने भन्दै कुनै हस्तक्षेप गर्न नहुने पक्षमा छन् । यसकारण पनि शुक्रबार नै सार्वजनिक गर्न अर्थमन्त्री पौडेलको सहमति थियो । केही बुँदा सच्याएर मौद्रिक नीति ल्याउनु पर्ने भएकाले समय धकेलिएको केन्द्रीय बैंकका एक अधिकारीले बताए ।
‘गभर्नर सा’व अर्थतन्त्रलाई कसरी चलायमान बनाउन सकिन्छ, त्यस किसिमका केही व्यवस्थाहरु परिवर्तन गर्नुपर्छ भन्ने कुरामा क्लियर हुनुहुन्छ’ ति अधिकारी भन्छन्, ‘मान्छले अनावश्यक रुपमा राजनीति घुसाउन खोज्छन्, गभर्नर सा’वमा त्यस्तो केही छैन, उहाँ व्यवसायिक मान्छे हो, सोही अनुसारको नीति आउछ ।’