८ महिनामै ५ लाख ७८ हजार ७५३ फुटबल आयात, खरिद मूल्य ९९ रुपैयाँमात्रै
वि.सं.२०७९ वैशाख ४ आइतवार १३:५६
shares
काठमाडौं । बजारमा सामान्य गुणस्तरको फुटबल खरिद गर्दा पनि ५ सय रुपैयाँ पर्छ । ब्राण्डेड फुटबलको मूल्य त झन् तीनरचार हजार रुपैयाँ पर्न जान्छ ।
तर, भन्सार विभागको तथ्यांकअनुसार नेपालमा एउटा फुटबल ९९ रुपैयाँ खरिद लागत देखाएर भित्रिने गर्छ ।
चालु आर्थिक वर्षको ८ महिनामा नेपालमा ५ लाख ७८ हजार ७५३ गोलो आकारमा बल आयात भएका छन् । गोलो आकारमा ठुलो बलमा फुटबल, भलिबल र बास्केटबल पर्ने भन्सार विभागले जनाएको छ । भन्सार विभागका अनुसार गोलो आकारको बललाई एउटै समुहमा राख्ने गरिन्छ ।
विभागको तथ्यांक अनुसार यो वर्ष गोलो आकारको बल आयात गर्न ५ करोड ७९ लाख ३९ हजार रुपैयाँ खर्च भएको छ । यस्तै सरकारले बल आयातबाट १ करोड ४३ लाख रुपैयाँ राजस्वसमेत असूल गरेको छ ।
भन्सार विभागमा खरिद मूल्य ९९ रुपैयाँमात्रै देखाएर आयात हुने बलको मूल्य बजारमा भने धेरै हुने गर्छ ।
भन्सार विभागका अधिकारी आन्तरिक राजस्व विभाग र वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन नगर्दा खरिद मूल्य भन्दा उच्च दरमा विभिन्न बस्तु बजारमा बिक्री भइरहेको बताउँछन् ।
‘हामीले खरिद बिलबिजकका आधारमा भन्सार लिने गर्छौं । राजस्व छलि गर्न खरिद मूल्य घटाएको पनि हुन सक्छ,’ भन्सार विभागका अधिकारी भन्छन्, ‘तर हामीले खरिद मुल्य पुष्टी गर्न नसक्दा व्यवसायीले भनेको मूल्यमा भन्सार लिने गर्छौं । बजार अनुगमनको जिम्मेवारी पाएको आन्तरिक राजस्व विभागले बजार अनुगमन नगर्दा व्यवसायीले मनलाग्दो मुल्यमा सामान बिक्री गरेका छन् ।’
नेपालमा कानून अनुसार कुनै पनि व्यवसायमा २० प्रतिशतभन्दा बढी मुनाफा दिन पाइँदैन । जसले गर्दा व्यवसायीले कुनै पनि सामान बिक्री गर्दा बिल दिन मान्दैनन् । न्यूरोडमा फेन्सी पसल सञ्चालन गर्ने एक व्यवसायीका अनुसार भन्सार छली गर्न खरिद मुल्य घटाउने प्रचलन निकै सामान्य भएको बताउँछन् ।
‘सरकारी निकायले बजार अनुगमन गर्दै व्यवसायीले सामान बिक्री गर्दा बिल काटेरनकाटेको हेर्ने मात्रै हो भने कर छली गर्ने व्यक्ती कानूनी दायरामा हुने आउने थिए’ ती व्यवसायी भन्छन्, ‘तर, सरकारी निकायले नामको मात्रै बजार अनुगमन गर्छन् । जसले गर्दा भन्सारमा मूल्य घटाउने र बजारमा उच्च मूल्यमा सामान बिक्री गर्ने विकृत्ति बढ्दो छ ।’
आन्तरिक राजस्व विभागका महानिर्देशक रितेश शाक्य विभागका कार्यालयले नियमित बजार अनुगमन गर्ने गरेको दाबी गर्छन् ।
‘भन्सार विभाग र हामीले संयुक्त बजार अनुगमन समेत गर्ने तयारी गरेका छौँ,’ शाक्य भन्छन्, ‘नियमित अनुगमन र अनुसन्धान हुँदा समेत केही ठाउँमा दृश्यसमेत नपुगेको हुनसक्छ । हामी सुधार गर्ने प्रयास गर्नेछौं ।’
यदि शाक्यले भने जसरी विभागका कार्यालयले नियमित बजार अनुगमन गर्ने भए सस्तो मुल्यमा फुटबल ल्याएर विक्री गर्दा व्यवसायी काराबाहीको दायरामा आउने थिए ।
आयकर ऐन अनुसार कुनै पनि व्यवसायीले बिक्री मूल्यको १३ प्रतिशत मुल्य अभिबृद्धि कर तिर्नु पर्छ । त्यसरी बिक्री मुल्यमा कर तिर्दा आफुले खरिद गर्दा तिरेको कर भने व्यवसायीले घटाउन पाउँछन् ।
व्यवसायीले फुटबल आयात गर्दा ९९ रुपैयाँमात्रै १३ प्रतिशत कर तिर्ने गर्छ्न् । बजारमा एक दुई हजारमा फुटबल बिक्री गरिए पनि मूल्य अभिबृद्धि बिजक जारी गर्दा भने बिक्री मुल्य खरिद मूल्यमा ५ देखि ७ प्रतिशत देखाउने गरिन्छ ।
फुटबलमात्रै नभई प्राय खेलकुदका सामानहरु आयात गर्दा निकै कम मूल्य देखाउने र बिक्री गर्दा चर्को मुल्य लिइने गर्छ । तर, सरकारी अधिकारीको असक्षमता र मिलमेतोले बार्षिक करोडौँ राजस्व छलि भइरहेको छ ।