Dhulikhel Eco Banner new

सुन आयातको दैनिक सीमा बढ्यो, विप्रेषण भुक्तानी सीमा पनि परिवर्तन

1.77K
shares

काठमाडौं, २४ असोज । नेपाल राष्ट्र बैंकले सुन आयातको दैनिक सीमा वृद्धि गरेको छ। शुक्रबार राष्ट्र बैंकले एकीकृत परिपत्र संशोधन गर्दै सुन आयात तथा विप्रेषण भुक्तानीसम्बन्धी नयाँ व्यवस्था लागू गरेको हो।

राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले जारी गरेको परिपत्रअनुसार अब सुन आयातमा पहिलेको भन्दा बढी परिमाण दैनिक रूपमा ल्याउन सकिनेछ। यसले बजारमा सुन आपूर्तिको अवस्था सहज बनाउने अपेक्षा गरिएको छ।

यससँगै विदेशबाट आउने विप्रेषण (रेमिट्यान्स) भुक्तानीको सीमा पनि परिवर्तन गरिएको छ। अबदेखि नेपाली वा विदेशी नागरिक, साथै नेपालमा दर्ता भएका कम्पनी, संस्था वा शाखा कार्यालयहरूले बिक्री, कमिसन, शुल्क, पारिश्रमिक लगायत प्रयोजनका लागि विदेशबाट प्राप्त हुने र फिर्ता गर्नु नपर्ने रकम इजाजतपत्रप्राप्त विप्रेषण कम्पनीमार्फत दैनिक २५ लाख रुपैयाँसम्म भुक्तानी गर्न सक्नेछन्।

यसअघि यो सीमा २० लाख रुपैयाँ मात्र थियो। नयाँ व्यवस्थाअनुसार सो रकम एकपटक वा पटक–पटक गरेर सम्बन्धित बेनेफिसियरीको बैंक खातामा जम्मा गर्न सकिनेछ। यसरी रकम भुक्तानी गर्दा प्रचलित नियमअनुसार ग्राहकको पहिचानसम्बन्धी कागजातहरू अनिवार्य हुनेछन्।

राष्ट्र बैंकले विप्रेषण कारोबारको निगरानी र पारदर्शिता सुनिश्चित गर्न अनुसूची २४।४ अनुसारको विवरण प्रत्येक महिना समाप्त भएको ७ दिनभित्र विभाग, सुपरिवेक्षण विभाग र आर्थिक अनुसन्धान विभागमा पेश गर्नुपर्ने व्यवस्था पनि जारी राखेको छ।