Dhulikhel Eco Banner new

पूँजी बजारमा डर होइन, धैर्य देखाउनुस्ः ब्रोकर संघ

1.18K
shares

काठमाडौं, २७ असोज । असोज २३ र २४ गतेका दिनहरूमा देखिएको युवा समूह जेनजीको आन्दोलन र त्यसपछिको राजनीतिक अस्थिरताले नेपालको पूँजी बजारमा प्रत्यक्ष असर पारेको भन्दै, धितोपत्र ब्रोकर संघ नेपालले लगानीकर्ताहरूलाई संयमित रहन र उच्च मनोबलका साथ कारोबार गर्न आग्रह गरेको छ।

संघका अध्यक्ष सागर ढकालद्धारा जारी प्रेस विज्ञप्तिअनुसार, “हालको अन्तरिम सरकारले शान्ति सुरक्षाको व्यवस्था, अर्थतन्त्रको स्थायित्व, तथा पूँजी बजार सुधारका लागि आवश्यक नीतिगत र कार्यान्वयन पक्षमा उल्लेखनीय काम अघि बढाएको छ।”

विज्ञप्तिअनुसार, सरकारले पूँजी बजार सुधार सुझाव समिति गठन गरी आवश्यक सुझाव संकलन गरिसकेको छ, र सो सुझावका आधारमा नेपाल राष्ट्र बैंक तथा नेपाल धितोपत्र बोर्ड मार्फत सुधारका कदमहरू तत्काल लागू गर्न थालिएको छ।

हालसम्म पूँजी बजार सुधार सम्बन्धी लगानीकर्ताहरूको प्रमुख मागहरूमध्ये धेरै प्रक्रियामा प्रवेश गरिसकेको र केही कार्यान्वयनको चरणमा रहेको संघले जनाएको छ।

संघले आन्दोलनका कारण देखिएको नकारात्मक प्रभावको बाबजुद पनि, समग्रमा देशको अर्थतन्त्रका सूचकाङ्कहरू, जस्तै बैंकको व्याजदर, वित्तीय तरलता, विदेशी मुद्रा सञ्चिति, र मूल्यवृद्धिको अवस्था क्रमशः सुधारोन्मुख देखिएको दाबी गरेको छ।

यसै सन्दर्भमा संघले लगानीकर्ताहरूलाई बजारमा अनावश्यक अफवाह वा अलमलमा नपर्न आग्रह गर्दै, यथार्थ मूल्याङ्कनसहित संयमित, दीर्घकालीन सोचका साथ लगानी गर्न सुझाव दिएको छ।