Dhulikhel Eco Banner new

टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ बिक्री खुला

2.46K
shares

काठमाडौं, २७ फागुन । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले आज फागुन २७ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बिक्री खुला गरेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गरेको हो।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कुल ४२ लाख ३० हजार ६६८ कित्ता आईपीओ निष्काशन गर्नका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ। जसमध्ये १२ लाख कित्ता आईपीओ आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि छुट्याइएको छ भने ३ लाख ३ हजार ६७ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको कम्पनीले जनाएको छ।

आयोजना प्रभावित स्थानीयतर्फ भोजपुर जिल्लाका बासिन्दाहरूले आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीतर्फ भने नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरूले आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

त्यसैगरी कम्पनीले १ लाख ५१ हजार ५३३ कित्ता आईपीओ सामूहिक लगानी कोषहरूका लागि र ६० हजार ६१३ कित्ता कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित गरेको छ। बाँकी रहेको शेयर भने दोस्रो चरणमा सर्वसाधारणका लागि निष्काशन गरिने कम्पनीले जनाएको छ।

आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। आयोजना प्रभाविततर्फको आईपीओ छिटोमा चैत ११ गते र ढिलोमा चैत २६ गतेसम्म खुला रहनेछ। वैदेशिक रोजगारीतर्फको आईपीओ भने छिटोमा चैत १ गते र ढिलोमा चैत ११ गतेसम्म आवेदन दिन सकिनेछ।

कम्पनीलाई केयर रेटिङ्ग नेपालले “केयरएनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग” प्रदान गरेको छ। यस रेटिङ्गले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ। आयोजना प्रभावित स्थानीय बासिन्दाहरूले बिक्री प्रबन्धकका साथै आयोजना कार्यालय भोजपुर, प्रभु बैंकका भोजपुर, प्याउली र हटुवागढी शाखा तथा सिटिजन्स बैंकको भोजपुर शाखाबाट आवेदन दिन सक्नेछन्।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयमार्फत सी–आस्बा प्रणालीबाट आवेदन दिन सक्नेछन्।