Dhulikhel Eco Banner new

शोधनान्तर स्थिति ५ खर्ब ७२ अर्ब बचतमा

3.29K
shares

काठमाडौं, २७ फागुन । चालु आर्थिक वर्ष २०८२/८३ को सात महिनामा मुलुकको शोधनान्तर स्थिति उल्लेख्य बचतमा रहेको छ।

नेपाल राष्ट्र बैंक ले बुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार समीक्षा अवधिमा शोधनान्तर स्थिति ५ खर्ब ७२ अर्ब ७३ करोड रुपैयाँले बचतमा रहेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ८४ अर्ब ४१ करोड रुपैयाँले बचतमा रहेको थियो।

अमेरिकी डलरमा गणना गर्दा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ११ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा बढेर ४ अर्ब ३ करोड डलर पुगेको प्रतिवेदनमा उल्लेख छ।

यसैगरी समीक्षा अवधिमा चालु खाता पनि उल्लेख्य बचतमा रहेको छ। सात महिनामा चालु खाता ४ खर्ब ९३ अर्ब ७८ करोड रुपैयाँले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ८४ अर्ब १४ करोड रुपैयाँले बचतमा रहेको थियो।

अमेरिकी डलरमा अघिल्लो वर्ष १ अर्ब ३७ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा बढेर ३ अर्ब ४७ करोड डलर पुगेको छ।

प्रतिवेदनअनुसार समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर ११ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ५ अर्ब ८३ करोड रुपैयाँ रहेको थियो।

यस्तै, समीक्षा अवधिमा प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) १० अर्ब २२ करोड रुपैयाँ भित्रिएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो लगानी ७ अर्ब ४३ करोड रुपैयाँ रहेको थियो।