Dhulikhel Eco Banner new

बेनी हाइड्रोपावरको आईपीओ बिक्री खुला

845
shares

काठमाडौं, १ चैत । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले आजदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन खुला गरेको छ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा कुल २० लाख ८० हजार कित्ता आईपीओ निष्काशन गर्न अनुमति पाएको छ। यसमध्ये पहिलो चरणमा १० लाख ४० हजार कित्ता आयोजना प्रभावित स्थानीयका लागि र १ लाख ४ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि बिक्री खुला गरिएको हो।

आयोजना प्रभावितका लागि छुट्याइएको शेयरमध्ये ५ लाख २० हजार कित्ता अति प्रभावित क्षेत्रका बासिन्दाका लागि छुट्याइएको छ। यसअन्तर्गत सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका वडा नम्बर २, ३ र ४ का स्थानीयले आवेदन दिन सक्नेछन्।

त्यसैगरी ३ लाख १२ हजार कित्ता प्रभावित क्षेत्रका लागि छुट्याइएको छ, जसअन्तर्गत सोही नगरपालिकाको वडा नम्बर ५, ६, ७ र ११ का स्थानीयले आवेदन दिन पाउनेछन्। बाँकी २ लाख ८ हजार कित्ता न्यून प्रभावित क्षेत्रका लागि छुट्याइएको छ, जसमा सोलुखुम्बु जिल्ला का अन्य क्षेत्रका स्थानीय बासिन्दाले आवेदन दिन सक्नेछन्।

यस आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। आयोजना प्रभावित क्षेत्रका स्थानीयले चैत १५ गतेसम्म र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले चैत ५ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ।

आयोजना प्रभावितले नेपाल धितोपत्र बोर्ड बाट सी–आस्बा सदस्यता प्राप्त बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन्। साथै एनएमबि बैंक र लक्ष्मी सनराइज बैंक को सल्लेरी शाखा, ग्लोबल आइएमई बैंक को सोलुखुम्बु शाखा तथा प्राइम कमर्सियल बैंक को नेचा सल्यान शाखाबाट आवेदन फाराम प्राप्त गरी बुझाउन सकिनेछ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ।