टक्सार पिखुवा खोला हाइड्रोपावरको प्रथम चरणको आईपीओ भर्ने आज अन्तिम दिन
वि.सं.२०८२ चैत १ आइतवार १०:११
shares

काठमाडौं, १ चैत । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले फागुन २७ गतेदेखि निष्काशन गरिरहेको प्रथम चरणको आईपीओअन्तर्गत वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको शेयरमा आज आवेदन दिने अन्तिम दिन रहेको छ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि १२ लाख कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ३ लाख ३ हजार ६७ कित्ता आईपीओ निष्काशन गरेको हो। तीमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको शेयरमा मागभन्दा बढी आवेदन परिसकेकाले आज बैंकिङ समयपछि आवेदन बन्द गरिने कम्पनीले जनाएको छ।
यद्यपि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले भने चैत ११ गतेसम्म आवेदन दिन सक्नेछन्। यस आईपीओमा आवेदन दिँदा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था गरिएको छ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी प्रभु क्यापिटल लिमिटेडले सम्हालेको छ।














