अमेरिका–इजरायल–इरान तनाव रोक्न माग गर्दै बुटवलमा शान्ति प्रदर्शन
वि.सं.२०८२ चैत १ आइतवार १०:१९
shares

काठमाडौं, १ चैत । मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले अमेरिका, इजरायल र इरानबीच बढ्दो तनाव र युद्धको सम्भावना अन्त्य गर्न माग गर्दै बुटवलमा शान्तिपूर्ण प्रदर्शन गरेको छ।
समाजले ‘युद्ध निषेध, शान्ति विशेष अभियान’ अन्तर्गत बुटवलस्थित पुष्पलाल पार्कमा प्रदर्शन आयोजना गरेको हो। प्रदर्शनका क्रममा सहभागीहरूले “युद्ध मानवताको अपमान हो”, “युद्ध समस्याको समाधान होइन” र “वार्ताबाट समस्याको समाधान गर” जस्ता सन्देश लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।
कार्यक्रममा बोल्ने वक्ताहरूले विश्वका विभिन्न क्षेत्रमा बढ्दो युद्ध र द्वन्द्वले मानवता तथा विश्व शान्तिमा गम्भीर असर पारिरहेको बताए। उनीहरूले समस्याको समाधानका लागि युद्धको बाटो नभई संवाद, सहमति र कूटनीतिक पहल नै प्रभावकारी माध्यम हुनेमा जोड दिए।
कार्यक्रमका प्रमुख वक्ता शान्ति समाजका पूर्व केन्द्रीय सभापति गोविन्द खनाल, राष्ट्रिय मानवअधिकार आयोग लुम्बिनीका अजित ठाकुर, पारदर्शी सरोकार बुटवलका दीपक ढकाल, बुटवल उद्योग वाणिज्य संघका लोकनाथ पन्थी, जिल्ला समन्वय समिति सदस्य सुनिता जिसी तथा युवा अभियन्ता समुद्र घिमिरे क्षेत्रीले बोल्दै विश्व शान्तिको विकल्प नभएको बताएका थिए।
कार्यक्रममा शान्ति समाजका केन्द्रीय सदस्य लालहरि पाण्डे र रत्ना कँडेल, निवर्तमान सभापति कृष्ण भट्टराई, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामराज पोखरेल, बुटवल बार एसोसिएसनका अध्यक्ष गोविन्द मरासिनी, नेपाल स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष कृष्ण चौहान, प्रेस चौतारी रुपन्देहीकी उपाध्यक्ष छाया पन्थ लगायत नागरिक अगुवा, अभियन्ता तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।
शान्ति समाजले अमेरिका, इजरायल र इरानबीचको बढ्दो तनाव तत्काल अन्त्य गरी विश्व शान्ति कायम गर्न अन्तर्राष्ट्रिय समुदायलाई प्रभावकारी पहल गर्न पनि आग्रह गरेको छ।
कार्यक्रमको अध्यक्षता शान्ति समाज रुपन्देहीका जिल्ला सभापति अर्जुन ज्ञवालीले गरेका थिए भने उपसभापति कृष्ण पाण्डेले स्वागत मन्तव्य दिएका थिए। कार्यक्रमको सञ्चालन जिल्ला सचिव लीलाधर लुइँटेलले गरेका थिए।














