एपोलो हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
वि.सं.२०८२ चैत १ आइतवार १०:२९
shares

काठमाडौं, १ चैत । एपोलो हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ।
कम्पनीले फागुन ११ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि आईपीओ बिक्री खुला गरेको थियो। सुरुमा आवेदन दिने म्याद चैत १० गतेसम्म तोकिएको भए पनि मागभन्दा बढी आवेदन परेका कारण आजै निष्काशन बन्द गर्न लागिएको हो।
कम्पनीले जारी पूँजी ५७ करोड रुपैयाँको ३० प्रतिशत अर्थात १४ करोड १० लाख रुपैयाँ बराबरको १४ लाख १० हजार कित्ता साधारण शेयर निष्काशन गर्ने अनुमति पाएको छ। तीमध्ये ४ करोड ७० लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ दरका ४ लाख ७० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको हो।
निष्काशन गरिएको शेयरमध्ये ५० प्रतिशत अर्थात २ लाख ३५ हजार कित्ता शेयर उच्च प्रभावित क्षेत्रका बासिन्दालाई बाँडफाँट गरिनेछ। यसअन्तर्गत ओखलढुङ्गा जिल्ला खिजिदेम्बा गाउँपालिका वडा नं. ७ र ८ का स्थानीय बासिन्दा पर्नेछन्।
त्यस्तै ३० प्रतिशत अर्थात १ लाख ४१ हजार कित्ता शेयर मध्यम प्रभावित क्षेत्रका बासिन्दाका लागि छुट्याइएको छ। यसअन्तर्गत सोलुखुम्बु जिल्ला लिखुपिके गाउँपालिका वडा नं. २ र रामेछाप जिल्ला उमाकुण्ड गाउँपालिका वडा नं. ३ का स्थानीय बासिन्दालाई बाँडफाँट गरिनेछ।
बाँकी २० प्रतिशत अर्थात ९४ हजार कित्ता शेयर न्यून प्रभावित क्षेत्रका बासिन्दालाई बाँडफाँट गरिनेछ। यसअन्तर्गत रामेछाप जिल्ला उमाकुण्ड गाउँपालिका वडा नं. २ र गोकुलगंगा गाउँपालिका वडा नं। १ का स्थानीय बासिन्दा पर्नेछन्।
उक्त आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने स्थानीय बासिन्दाले अधिकतम ४७ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ।














