नेपालको विद्युत् र सिँचाइ सेवा सुधार गर्न विश्व बैंकद्वारा २५ करोड ७० लाख डलर स्वीकृत

वि.सं.२०८२ जेठ १९ सोमवार १३:५५
shares

काठमाडौं, १९ जेठ । नेपालको ऊर्जा तथा कृषिक्षेत्र सुधारका लागि विश्व बैंकले २५ करोड ७० लाख अमेरिकी डलर बराबरको दुई ठूला परियोजना स्वीकृत गरेको छ। विश्व बैंकको कार्यकारी निर्देशकहरूको बोर्डले मे २९ मा स्वीकृति दिएको यस सहयोगबाट विद्युत् वितरण सुधार र सिंचाइ सेवा विस्तार गरिनेछ।
प्राप्त जानकारीअनुसार, “इलेक्ट्रिसिटी सप्लाई रिलायबिलिटी इम्प्रुभमेन्ट प्रोजेक्ट” नामक पहिलो परियोजनाका लागि १२ करोड डलर विनियोजन गरिएको छ। यसले कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशमा विद्युत् वितरण प्रणाली बलियो बनाउनेछ। परियोजनाअन्तर्गत नयाँ वितरण सबस्टेसनहरू निर्माण गरिने, पुराना लाइनहरूको स्तरोन्नति गरिने तथा वास्तविक समयमा निगरानी गर्न स्वचालित प्रणाली लागू गरिनेछ। यसले विद्युत् आपूर्ति भरपर्दो, नियमित र प्रभावकारी बनाउने विश्वास लिइएको छ।
नेपाल विद्युत् प्राधिकरणको नेतृत्वमा सञ्चालन हुने यो परियोजनाले हजारौं उपभोक्तालाई प्रत्यक्ष लाभ पुर्याउनेछ।
दोस्रो परियोजना “रानी जमरा कुलरिया सिंचाइ प्रणाली आधुनिकीकरण परियोजना – तेस्रो चरण” का लागि १३ करोड ७० लाख डलर लगानी गरिनेछ। यो परियोजनाले सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लामा सिंचाइ सेवाको पहुँच विस्तार गर्नेछ। परियोजना सम्पन्न भएपछि वर्षभर १७ हजार ५०० हेक्टर क्षेत्रफलमा सिंचाइ सुविधा उपलब्ध हुनेछ।
विश्व बैंकका अनुसार, यो परियोजनाबाट करिब १ लाख ६० हजार मानिस लाभान्वित हुनेछन्। परियोजना जलस्रोत तथा सिंचाइ विभाग र कृषि विभागले संयुक्त रूपमा कार्यान्वयन गर्नेछन्। यसले कृषि उत्पादनशीलता वृद्धि गरी कृषकहरूको जीवनस्तर सुधार गर्न सहयोग पुर्याउनेछ।