जब संगिताले देखिन् भैसीपालनमै भविष्य (भिडियोसहित)
वि.सं.२०८२ भदौ १४ शनिवार ०९:००
shares

काठमाडौं, २४ असार । २०७२ सालको विनाशकारी भूकम्पले नुवाकोटकी संगिता खनाल न्यौपानेको जीवनमा ठूलो परिवर्तन ल्यायो । घर–परिवारको दायित्व बोकेर बसेकी संगिताले विपत्तिलाई अवसरमा बदल्ने निर्णय गरिन् । उनले सोचिन्, अब आफ्नै खुट्टामा उभिनुपर्छ, व्यवसाय गर्नुपर्छ, परिवार पाल्नुपर्छ । यही सोचका साथ उनले आफ्नै घरमा भएका दुई चारवटा भैँसी पालेर सुरुवात गरिन् ।
भूकम्पपछिको कठिन परिस्थितिमा उनले लघुवित्त समूहमा आबद्ध हुँदै ५० हजार रुपैयाँ ऋण लिएर थप एक वटा भैँसी किनिन् । त्यतिबेला उनको घरमा जम्मा चारवटा भैँसी थिए । यिनै भैँसीहरूलाई राम्रोसँग पालनपोषण गर्दै उनले विस्तार गर्दै गइन् । आज उनको घरमा २२ देखि २३ वटा भैँसी छन् ।
संगिता आफैँ समूह अध्यक्ष बनिन् । उनले अरूलाई पनि लघुवित्तको लाभ लिन प्रेरित गरिन् । उनले लघुवित्तको सहयोगमा व्यवसाय विस्तार गर्दै बेलकोटगढी नगरपालिका–२ फाटापौवामा डेरीसमेत सञ्चालनमा ल्याएकी छिन् । सुरुमा दैनिक ६–७ लिटर दूध उत्पादन हुने उनको डेरी अहिले १५–१६ क्यानसम्म पुगिसकेको छ ।
संगिताले अरूबाट भैँसी किन्न छोडेर आफ्नै घरमै हुर्किएका पाडाहरूलाई पालनपोषण गर्दै उत्पादनलाई निरन्तरता दिइरहेकी छिन् । उनले त्रिशूलीका दुई तीन ठाउँमा नियमित दूध बिक्री गर्दै आएकी छिन् । दूध बेचेरै उनले एक वटा गाडीसमेत किनिन्, जसले दुग्ध ढुवानीमा ठूलो सहजता ल्याएको छ ।
संगिताको अनुभवमा लघुवित्त संस्था बिनाधितो ऋण दिने सहज माध्यम हो । उनले हालसम्म ७ लाख रुपैयाँसम्मको ऋण लिई आफ्ना सबै कारोबार लघुवित्तकै माध्यमबाट सञ्चालन गरिरहेकी छिन् । उनी भन्छिन्, लघुवित्तबाट ऋण लिन सजिलो छ, सधैँ समयमै किस्ता र ब्याज तिर्ने हो भने फेरि पनि सहजै ऋण पाइन्छ ।
उनले भनेकी छिन्, बैंकमा धितो मागिन्छ, तर लघुवित्तले विश्वासका आधारमा ऋण दिन्छ । यही विश्वासको आधारमा उनी अगाडि बढिरहेकी छिन् । लघुवित्तबाट सुरु भएको यात्राले उनीसँग आत्मबल पनि दिएको छ । उनले आफू मात्र होइन, समूहका अन्य महिलाहरूलाई पनि सहि सदुपयोग गर्न प्रेरित गरिरहेकी छिन् ।
लघुवित्त संस्थाले दिएका सीपमूलक तालिमहरूबाट पनि उनले लाभ लिएकी छन् । उनले धूप बनाउने तालिम लिएकी छिन् । संगिता भन्छिन्, लघुवित्त संस्था ठग हो भन्ने प्रचार झूट हो । ऋण लिएर उत्पादन गरेर समयमै तिर्न सक्ने हो भने यस्तो आरोप लाग्नै सक्दैन ।
उनको भनाइमा, सदस्यहरूले समयमा सावा र ब्याज नतिरे संस्था घाटामा जान्छ । त्यसैले ऋण लिनेले पनि आफ्नो कर्तव्य बुझ्नुपर्छ । संगिता भन्छिन्, जब संस्थाले बिना धितो ऋण दिन्छ, हामीले पनि त्यसको सदुपयोग गरेर राम्रो उत्पादन गर्न सक्नुपर्छ ।
उनको अनुभव अनुसार लघुवित्त संस्थाले अझ धेरै सीपमूलक तालिमहरू उपलब्ध गराउनुपर्छ । किनभने धेरै महिलाहरू खेतीपाती वा घरमै सीमित हुन्छन् । केही महिलाहरूलाई श्रीमानले रोकटोक गर्ने, पैसा लिन नदिने जस्ता समस्यासमेत हुने भएकाले तालिमबाट चेतना र आत्मविश्वास दुवै बढाउन सकिन्छ ।
संगिता सहकारीमा पनि आवद्ध छिन् । सानाकिसान सहकारीमा उनी बचत गर्छिन् तर कर्जा भने लिएकी छैनन् । समूहको पैसा प्रायः आफैले बुझाउँछिन्, कहिलेकाहीँ श्रीमानले इसेवामार्फत भुक्तानी गरिदिन्छन् ।
उनले लघुवित्तको कामकाज बुझ्न महिनामा एकचोटी समूह बैठक अनिवार्य हुने बताउँछिन् । यस्तो बैठकले महिलाहरूलाई संस्था र आफ्ना जिम्मेवारीप्रति सजग बनाउँछ ।
उनको सुझावमा, लघुवित्त संस्थाले एटिएम सेवा दिन सके अझ सजिलो हुने थियो । एटिएम भएको खण्डमा कारोबार झनै सहज र पारदर्शी हुने थियो ।
संगिता भन्छिन्, लघुवित्तले किसानहरूको मर्म बुझ्दै आएको छ, अझै पनि कम ब्याजदरमा ऋण दिन सके धेरै किसानले व्यवसाय फस्टाउन सक्छन् । संस्थाको स्थायित्व पनि ऋणीको जिम्मेवारीमा निर्भर हुन्छ । संस्थाले दिएको अवसरको सदुपयोग गरेर महिलाहरू आत्मनिर्भर बन्न सक्छन् ।
संगिता खनाल न्यौपानेको कथा केवल भैँसीपालनको मात्रै होइन, यो आत्मनिर्भर बन्ने, समुदायलाई नेतृत्व दिने र सही सहकार्यबाट सफलता हासिल गर्ने उदाहरण हो । उनका अनुभवहरू नेपाली महिलाहरूको सम्भावनालाई चिनाउने प्रेरणादायी सन्देश हुन् ।
तस्विर/भिडियो : उज्वल पौडेल