Dhulikhel Eco Banner new
HRM

गभर्नर पौडेलले वाणिज्य बैंकका अध्यक्षहरूसँग छलफल गर्ने, बाफिया संशोधन र मौद्रिक नीतिको प्रभावमा केन्द्रित

858
shares

काठमाडौं, १४ साउन । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले वाणिज्य बैंकहरूको सञ्चालक समितिका अध्यक्षहरूसँग बुधबार सोल्टी होटलमा महत्वपूर्ण छलफल गर्दैछन्। मंगलवार बैंकका प्रमुख कार्यकारी अधिकृतहरूसँग गरिएको छलफलको निरन्तरतास्वरूप आजको बैठक आयोजना गरिएको हो।

छलफलको मुख्य एजेन्डामा चालु आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति, दोस्रो वित्तीय क्षेत्र विकास रणनीति, र बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया)को प्रस्तावित संशोधन समेटिएको छ। राष्ट्र बैंकले सबै बैंकका अध्यक्षहरूलाई पठाएको पत्रमा यिनै तीन विषयमा केन्द्रित भएर छलफल गरिने उल्लेख गरिएको छ।

बाफिया विधेयकको संशोधनमा उल्लेख्य स्वामित्वको सीमा २ प्रतिशतबाट घटाएर १ प्रतिशतमा झार्ने र त्यस्ता स्वामित्व भएका लगानीकर्ताले बैंकबाट व्यवसायिक कर्जा लिन नपाउने व्यवस्था प्रस्ताव गरिएको छ। यसले बैंकर र व्यवसायीबीच स्पष्ट सीमांकन गर्ने उद्देश्य राखेको छ। साथै, ‘सम्बद्ध व्यक्ति’ को परिभाषा पनि विस्तृत बनाउने प्रस्ताव विधेयकमा गरिएको छ।

यसअघि मंगलबार भएको छलफलमा बैंकका प्रमुख कार्यकारी अधिकृतहरूले यस्तो व्यवस्थाले संस्थापक लगानीकर्तालाई एक्जिट प्लान दिन आवश्यक रहेको सुझाव दिएका थिए। गभर्नर पौडेलले पनि यस विषयमा समय दिनुपर्नेमा आफू र अर्थमन्त्री दुवै सकारात्मक रहेको बताएका थिए।

प्रतिनिधिसभाको अर्थ समितिमा अहिले छलफलमा रहेको बाफिया संशोधन विधेयकप्रति सरकार, केन्द्रीय बैंक र सांसदहरू सकारात्मक देखिए तापनि त्यसको कार्यान्वयनका लागि आवश्यक समय र रणनीतिबारे अझ स्पष्टता आवश्यक रहेको धारणा व्यक्त गरिएको छ।

गभर्नर पौडेलले अध्यक्षहरूसँगको छलफलमा उक्त प्रस्तावित कानुनी परिवर्तनले पार्न सक्ने सकारात्मक र नकारात्मक असरहरू, तथा लगानीकर्ताको सुरक्षित बाहिरिने नीतिसम्बन्धी पक्षमा पनि गहिरो छलफल गर्ने तयारी रहेको छ ।