Dhulikhel Eco Banner new
HRM

निर्वाध रुपमा पेशा व्यवसाय गर्न आवश्यक सुरक्षा, सामान अभाव हुन नदिन प्रयत्नशील रहन सदस्यहरुमा आग्रह

312
shares

काठमाडौं, २७ भदौ । देशभर भइरहेको आन्दोलन तथा प्रदर्शनका क्रममा जनधनको भएको क्षतिप्रति नेपाल उद्योग वाणिज्य महासंघले गहिरो दुःख व्यक्त गर्दै सम्वेदनशील अपिल सार्वजनिक गरेको छ। आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै महासंघले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।

महासंघले युवापुस्ताले उठाएका शुसासन, भ्रष्टाचार नियन्त्रण, वाक स्वतन्त्रता, मर्यादित रोजगारी, स्वरोजगारी र राजस्वको सदुपयोगजस्ता विषयहरूलाई सकारात्मक रूपमा लिँदै देशले विवेकपूर्ण निर्णयसाथ समुन्नतिको यात्रा तय गर्नुपर्नेमा जोड दिएको छ।

महासंघले पछिल्ला घटनाक्रमले देशभरका उद्यमी तथा व्यवसायीहरूका उद्योग, प्रतिष्ठान, कार्यालय तथा निजी सम्पत्तिमा तोडफोड र आगजनीजस्ता घटनाबाट अर्बौं रुपैयाँ बराबरको क्षति भएको जनाएको छ। यस्ता घटनाको कडा भर्त्सना गर्दै भविष्यमा यस्ता आक्रमण नदोहोरियोस् भनेर सुरक्षा निकाय र सरोकारवालाहरूको गम्भीर ध्यानाकर्षण गराइएको छ।

महासंघले निजी क्षेत्रको सुरक्षाविना मुलुकको समुन्नति, राजस्व वृद्धि तथा रोजगारीको सम्भावना नरहने स्पष्ट पारेको छ। यसैले आम सर्वसाधारण तथा व्यवसायीहरूले निर्वाध रूपमा पेशा तथा व्यवसाय गर्न पाउने सुनिश्चितताका लागि तत्काल प्रभावकारी शान्ति सुरक्षाको व्यवस्था मिलाउन आग्रह गरिएको छ।

निषेधाज्ञा वा कर्फ्युका अवस्थाहरूमा अत्यावश्यक सेवाहरू जस्तै औषधि, खाद्यान्न, दूध, पानी, तरकारी, फलफूल, इन्धन आदिको आपूर्ति सुनिश्चित गर्न सहजीकरण गर्नुपर्नेमा पनि महासंघले जोड दिएको छ। यसका लागि केन्द्र, प्रदेश र जिल्ला तहमा रहने सुरक्षा समितिमा महासंघका प्रतिनिधिहरूको समावेश गरिनुपर्ने माग गरिएको छ।

यस्तै, देशभरका उद्यमी व्यवसायीहरूलाई गुणस्तरीय सामग्रीको नियमित आपूर्ति गरि कृत्रिम अभाव सिर्जना हुन नदिन आग्रह गर्दै सम्बन्धित संघसंस्थाहरूले बजार अनुगमन गर्नुपर्नेमा पनि महासंघले जोड दिएको छ।

अन्तर्राष्ट्रिय विमानस्थल खुला भए पनि अधिकांश भन्सार नाका बन्द भएको र अत्यावश्यक वस्तु आयात–निर्यातमा समस्या देखिएको भन्दै भन्सार नाकाहरूमा सुरक्षा व्यवस्था मिलाई सञ्चालन गर्नुपर्ने माग गरिएको छ।

महासंघले स्मरण गराएको छ कि निजी क्षेत्रले नेपाली अर्थतन्त्रमा ८१ प्रतिशत, राजस्वमा ८० प्रतिशत र रोजगारीमा ८६ प्रतिशत योगदान गरिरहेको छ। यस्ता योगदानकर्ताहरूको सुरक्षा र स्वतन्त्र व्यवसाय सञ्चालनको अधिकार सुनिश्चित नगरी समुन्नत राष्ट्रको परिकल्पना सम्भव नहुने धारणा महासंघले व्यक्त गरेको छ।

यी सबै विषयमा महासंघको कार्यकारिणी समिति तथा पूर्व अध्यक्षहरूको बैठक बसेर साझा धारणा बनाइएको र समुन्नत, स्थायी, युवा(मैत्री र व्यवसायिक वातावरण निर्माणका लागि सरकार तथा सरोकारवालासँग सहकार्य गर्न महासंघ तयार रहेको स्पष्ट गरिएको छ।