Dhulikhel Eco Banner new
HRM

अब न्याय पाउने आशामा जेल फर्कदैछुः रवि लामिछाने

390
shares

काठमाडौं, २८ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू अन्यायविरुद्धको आशा बोकेर पुनः जेल फर्किन लागेको बताएका छन्। सामाजिक सञ्जालमार्फत एक भिडियो सन्देश जारी गर्दै लामिछानेले सुशीला कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकारलाई ‘न्यायको प्रतिमूर्ति’ को संज्ञा दिँदै अबदेखि अन्याय नहुने विश्वास व्यक्त गरेका छन्।

उनले भनेका छन्, “पछिल्लो सरकारले म माथि चरम राजनीतिक प्रतिशोध साधेर मेरो जिना हराम बनाएको थियो, तर आज देशको नेतृत्वमा न्यायकी प्रतिमूर्ति स्वयं प्रधानमन्त्री बन्नुभएको छ।” शनिबार परेको आफ्नो जन्मदिनको उल्लेख गर्दै उनले यो वर्षको उपहारस्वरूप आफू कारागार फर्किन लागेको उल्लेख गरेका छन्। लामिछाने पछिल्लो पटक २४ भदौमा देखिएका थिए, जुन बेला देशभर जेनजी आन्दोलन तीव्र थियो।

उनले आफू कारागार प्रशासनकै निर्णयअनुसार बाहिर निस्किएको दाबी गरे पनि, प्रशासनले यसबारे कुनै औपचारिक विवरण सार्वजनिक गरेको छैन। लामिछाने हाल पुनः नख्खु कारागारमा फिर्ता हुने तयारीमा छन्। उनको भिडियो सन्देशले सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया उत्पन्न गराएको छ।

उनका समर्थकहरूले उनलाई साहसी भनेर समर्थन जनाएका छन् भने आलोचकहरूले यसलाई नाटकीय प्रतिक्रिया भनेका छन्। हाल मुलुक राजनीतिक संक्रमणमा रहेको बेला लामिछानेको यस्तो कदम र वक्तव्यलाई कतिपयले रणनीतिक दबाबको रूपमा पनि व्याख्या गरेका छन्।