निर्वाचन सम्पन्न गराउन सबै पक्ष जिम्मेवार बनौंः राष्ट्रपति पौडेल

वि.सं.२०८२ भदौ २८ शनिवार १९:३७
shares

काठमाडौं, २८ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन सबै पक्षलाई सहकार्य र सहयोगको अपिल गरेका छन्।
शनिबार वक्तव्य जारी गर्दै राष्ट्रपतिले देशले अहिले प्राप्त गरेको संवैधानिक अवसरको सदुपयोग गर्दै शान्तिपूर्ण ढंगले निर्वाचन सम्पन्न गर्नु जरुरी रहेको उल्लेख गरेका छन्।
उनले भनेका छन्, ‘देशको अत्यन्त असहज, विषम र भयपूर्ण परिस्थितिमा कठिन प्रयत्न पश्चात एउटा शान्तिपूर्ण निकास निस्किएको छ। संविधान बचेको छ, संसदीय प्रणाली बचेको छ र संघीय लोकतान्त्रिक गणतन्त्र कायम रहेको छ।’
राष्ट्रपतिले आगामी छ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गरेर अझ उन्नत लोकतन्त्रको बाटोमा अघि बढ्न जनता र राजनीतिक दलहरू सबैले गम्भीरता देखाउनुपर्नेमा जोड दिएका छन्।
उनले जनतालाई रिझाउने मात्र होइन, आफूलाई पनि सम्हाल्दै जिम्मेवारीपूर्वक निर्वाचन सम्पन्न गर्न आग्रह गरेका छन्।
राष्ट्रपतिका अनुसार अबको यात्रा संविधानको मर्मअनुसार चल्नुपर्छ र प्राप्त व्यवस्था संस्थागत गर्दै लोकतान्त्रिक मूल्य, पद्धति र शान्तिपूर्ण प्रतिस्पर्धालाई बलियो बनाउनुपर्ने समय आएको छ।