Dhulikhel Eco Banner new
HRM

साउन महिनामा शोधनान्तर स्थिति दोब्बरले सुधार

364
shares

काठमाडौं, ३१ भदौ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना साउनमा नेपालको शोधनान्तर स्थिति दोब्बरले सुधार भएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार साउनमा शोधनान्तर स्थिति ८९ अर्ब ३० करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ४० अर्ब ९० करोड मात्र थियो।

रेमिट्यान्स आप्रवाहमा करिब ३० प्रतिशतले भएको वृद्धि र निर्यातमा ९५ प्रतिशतको उछालले शोधनान्तर सुधारमा मुख्य योगदान दिएको हो। त्यस्तै, आयातको वृद्धिदर ११ प्रतिशतमै सीमित रहँदा समग्र व्यापार सन्तुलनमा सुधार देखिएको छ।

शोधनान्तर स्थिति अमेरिकी डलरमा हेर्दा पनि उल्लेखनीय रूपमा सुधारिएको छ। अघिल्लो वर्षको साउनमा ३१ करोड डलरले बचतमा रहेको शोधनान्तर चालु आव साउनमा ६४ करोड डलरले बचतमा पुगेको छ।

चालु खाता पनि यस वर्षको साउन महिनामा उल्लेखनीय रूपमा सुधारिएको छ। चालु आवमा यो ७८ अर्ब १४ करोड रुपैयाँले बचतमा छ, जुन अघिल्लो वर्षको साउनमा ३३ अर्ब ८ करोड रुपैयाँ थियो। अमेरिकी डलरमा अघिल्लो वर्ष २५ करोडले बचतमा रहेको चालु खाता अहिले ५६ करोड डलरले बचतमा रहेको देखिन्छ।

खुद पूँजीगत ट्रान्सफर साउन महिनासम्म १ अर्ब ४ करोड रुपैयाँ पुगेको छ। गत वर्ष सोही अवधिमा यो २२ करोड रुपैयाँ मात्र थियो।

प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) भने केही घटेको छ। चालु आवको साउनमा ६९ करोड रुपैयाँ बराबरको एफडीआई भित्रिएको छ, जबकि अघिल्लो आव सोही अवधिमा यो ८० करोड रुपैयाँ थियो।