Dhulikhel Eco Banner new
HRM

कार्डको माध्यमबाट सीमित मात्र नगद झिक्न सकिनेछः राष्ट्र बैंक

364
shares

काठमाडौं, ३१ भदौ । नेपाल राष्ट्र बैंकले वित्तीय चेतनाका लागि भुक्तानी कार्डमार्फत नगद झिक्ने सीमा स्पष्ट रुपमा सार्वजनिक गरेको छ। बैंक तथा वित्तीय संस्थाहरू र तिनीहरूबाहेकका भुक्तानी सेवा प्रदायक संस्थाहरूले प्रदान गर्ने प्रिपेड, डेबिट तथा क्रेडिट कार्डबाट नगद झिक्दा निश्चित सीमा तोकिएको राष्ट्र बैंकले जानकारी दिएको छ।

राष्ट्र बैंकका अनुसार कार्डको माध्यमबाट अनधिकृत प्रयोग तथा चोरी रोक्न र नगदरहित कारोबारलाई प्रोत्साहन गर्न यस्तो सीमा निर्धारण गरिएको हो।

बैंक तथा वित्तीय संस्थाबाट जारी प्रिपेड कार्डबाट एकपटकमा १० हजार, प्रतिदिन २० हजार र प्रतिमहिना अधिकतम २ लाख रुपैयाँसम्म नगद झिक्न पाइनेछ। डेबिट कार्डको हकमा एकपटकमा २५ हजार, प्रतिदिन १ लाख र प्रतिमहिना ४ लाख रुपैयाँसम्म झिक्न सकिने व्यवस्था छ।

क्रेडिट कार्डको हकमा भने ग्राहकको स्वीकृत सीमाको १० प्रतिशतसम्म मात्र नगद झिक्न सकिनेछ।

बैंक तथा वित्तीय संस्थाबाहेकका सेवा प्रदायक संस्थाहरूबाट जारी हुने प्रिपेड कार्डबाट एकपटकमा ५ हजार र प्रतिदिन अधिकतम २५ हजार रुपैयाँसम्म मात्र झिक्न पाइनेछ।

राष्ट्र बैंकले डोमेस्टिक कार्ड स्किम अन्तर्गत अतिरिक्त कार्ड जारी गरे पनि ग्राहकको खातामा यो सीमाभन्दा बढी कारोबार गर्न नपाइने स्पष्ट पारेको छ।

निक्षेपकर्ताको रकमको सुरक्षा र डिजिटल भुक्तानी प्रवर्द्धन गर्ने उद्देश्यले यो निर्देशन ल्याइएको राष्ट्र बैंकको भनाइ छ।