अण्डा उत्पादन गरेर मासिक दुई लाख ५० आम्दानी
वि.सं.२०८२ मंसिर २२ सोमवार १४:१५
shares

काठमाडौं, २२ मंसिर । एघार वर्षअघि रोजगारीको सिलसिलामा मलेसिया पुगेका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १ बन्साहका धर्मेन्द्र राना अहिले गाउँमै मेहनत गरेर मासिक रु एक लाख ५० लाख आम्दानी गरिरहेका छन् । सन् २०१४ मलेसिया पुगेका २६ वर्षीय उहाँ एक वर्षमै स्वदेश फर्किए ।
एजेण्टले भने अनुसार तलब नदिएपछि वर्ष दिनमै घर फर्किए । रानाले भने, मलेसियाबाट आएर भारतका विभिन्न ठाउँमा पनि रोजगारीका लागि कुदेँ ।दुई वर्षअघि गाउँमै फार्म बनाएर अण्डा उत्पादनमा जुटेका रानाले छोटो समयमै व्यवसायमा सफलता हात पारेको बताउँछन् । अहिले चार हजार कुखुराले अण्डा दिँदैछन् । उनले भने,मासिक नौ दश लाखको कारोबार भए पनि मुनाफा अढाइ लाख भइरहेको छ ।
व्यवसायी रानाले कात्तिक महिनादेखि माघसम्म अण्डाको व्यापार राम्रो हुने गरेको बताए । एक हजार पाँच सय कुखुरा पाल्नबाट सुरु गरेको अहिले चार हजार कुखुरा छन् । उनले भने तीस लाखबाट सुरु गरेको कारोबार अहिले ८० लाखको हाराहारीमा पुगिसकेको छ । अहिले दैनिक दुई हजार पाँच सय देखि तीन हजार अण्डा बिक्री हुने गरेको छ ।
मलेसिया रोजगारीका बेला मामा नातापर्ने सीताराम राना त्यहाँ अण्डा उत्पादन कम्पनीमा कार्यरत थिए । “मामालाई भेट्न जाँदा आफूमा पनि स्वदेश गएर उत्पादनमा लाग्ने सोच पलायो, फर्किए पनि । लगानी नहुँदा केही समय भारत पनि पसे । उनले भने धान कुटानीको मिल बिक्री गरेर आएको रकम अण्डा उत्पादनका लागि लगानी गरेर अघि बढे ।
कृषि ज्ञान केन्द्र, पशु कार्यालय लगायतका सरोकार वाला निकायबाट भने कुनै खालको अनुदान रकम नपाएको रानाको भनाइ छ । उनले कञ्चनपुरमै पहिलो पटक आधुनिक केजस्टक प्रविधिबाट अण्डा उत्पादन गर्ने कुखुरा पालेका हुन । गाउँ घरमा राना थारु समुदायले परम्परागत रुपमा त कुखुरा पाल्न थालेको दशकौ भयो होला तर व्यावसायिक रुपले आधुनिक प्रविधिसँग जोडिएर यहाँ सुरु मैले नै गरेको हुँ । व्यवसायी रानाले भने लगानी, सीप र मेहनत भए रोजगारीका लागि खाडीमूलुक जान पर्देन । हाल भइरहेको आम्दानीबाट रानाले कुखुरा फार्ममै लगानी विस्तार गरिरहेका छन् ।
उनले फार्मबाट उत्पादन भएको अण्डाको बिक्रीका लागि बजारको कुनै समस्या नरहेको बताए । यहाँको सबैजसो पालिकाका बजारमा अण्डा दैनिक बिक्री वितरणका लागि गइरहेको छ । रानाले भने, स्वदेश मै उत्पादनमूलक कार्यमा जुटेका हामी जस्ता युवाहरुलाई प्रोत्साहनका सरकारले ध्यान दिनुपर्छ ।
निम्न आयस्तर भएको युवालाई कृषि, उत्पादनमा लाग्दा स्थानीयदेखि केन्द्र सरकारले सहयोगी प्याकेज दिनुपर्छ । उनले भने वास्तविक किसानसम्म सरकारको सहयोग पुग्ने हो भने धेरै युवाहरु घर आँगनमै रोजगारी पाउँछन् ।













