गभर्नरले हेरफेर गरे डेपुटी गभर्नरहरुको जिम्मेवारी, हेर्नुस कसलाई कता ?

वि.सं.२०८१ मंसिर २७ बिहीवार १४:४३
shares

काठमाडौं, २७ मंसिर । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मंसिर २७ गतेदेखि लागु हुने गरी डेपुटी गभर्नरहरूको जिम्मेवारी हेरफेर गरेका छन्। यस नयाँ व्यवस्थापन अन्तर्गत, गभर्नर अधिकारीले आर्थिक अनुसन्धान विभागलाई बमबहादुर मिश्रको मातहतमा स्थानान्तरण गरेका हुन् ।
राष्ट्र बैंकको डेपुटी मिश्रलाई बैंक सुपरीवेक्षण विभाग, वित्तीय संस्था सुपरीवेक्षण विभाग, मौद्रिक व्यवस्थापन विभाग, बैंकिङ विभाग र भुक्तानी प्रणाली विभागको जिम्मा दिइएको छ । यता अर्की डेपुटी गभर्नर निलम ढुुंगाना तिम्सिनालाई बैंक तथा वित्तीय संस्था नियमन विभाग, विदेशी विनिमय व्यवस्थापन विभाग, लघुवित्त संस्था सुपरीवेक्षण विभाग, गैरबैंक वित्तीय संस्था सुुपरीवेक्षण विभाग र प्रदेशस्थिति कार्यालयहरुको जिम्मा दिइएको हो ।
युवराज खतिवडा राष्ट्र बैंकको गभर्नर भएपछि आर्थिक अनुसन्धान विभागलाई गभर्नर कार्यालय मातहत लगिएको थियो । चिरिञ्जीवी नेपाल गभर्नर भएपछि फेरि आर्थिक अनुसन्धान विभागलाई डेपुटी गभर्नर मातहत लगेका थिए । १३ महिना अघि गभर्नर अधिकारीले पुनः आफ्नो मातहतमा ल्याएका थिए । अब आर्थिक अनुसन्धान विभागले डेपुटी गभर्नर मिश्रलाई रिपोर्टिङ गर्नेछ ।
त्यसैगरी, ढुंगानाको मातहतमा रहेको बैंक सुपरीवेक्षण विभाग मिश्रको मातहतमा सारिएको हो भने विदेशी विनिमय व्यवस्थापन विभागको जिम्मेवारी ढुंगानाकोमा यथावत राखिएको हो । हाल गभर्नर कार्यालय, वित्तीय जानकारी इकाई, आन्तरिक लेखा परीक्षण विभाग र कानून महाशाखा गभर्नर अधिकारी मातहत राखिएको छ ।
यस्तै, डेपुटी गभर्नर मिश्रलाई मानव संशाधन व्यवस्थापन विभाग र वित्त व्यवस्थापन विभागको जिम्मा दिइएको छ । यसैगरी मुद्रा व्यवस्थापन विभाग, संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभाग, सम्पत्ति तथा सेवा व्यवस्थापन विभाग र सूचना प्रविधि विभाग ढुंगानाको मातहतमा राखिएको छ ।