Dhulikhel Eco Banner new
HRM

अर्थतन्त्र शिथिल भएसँगै गाडी खरिद कर्जामा पनि असर

1.86K
shares

काठमाडौं, २१ पुस । अर्थतन्त्र शिथिल भएसँगै विभिन्न क्षेत्रमा असर परेको छ । अर्थतन्त्र शिथिल हुँदाको असर गाडी खरिद (हायर पर्चेज) कर्जामा पनि देखिएको छ । बैंकहरुमा निक्षेप थुप्रिएको तर ऋण चलायमान भने नभएको बैंकरले बताउँदै आएका छन् । अहिले बजारमा गाडी खरिदका लागि पनि नयाँ कर्जाको माग निकै कम आएको बैंकर बताउँछन् । कृषि, औद्योगिक, व्यावसायिक वा निजी प्रयोजनका लागि कुनै पनि फर्म, कम्पनी वा संस्था र व्यक्तिलाई सवारीसाधन, मेसिनरी औजार, उपकरण खरिद गर्नका लागि हायर पर्चेज कर्जा निकै कम गएको बैंकहरू बताउँछन् ।

गत कात्तिक मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुले ५२ खर्ब ८० अर्ब २८ करोड ८० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा हायर पर्चेजका लागि एक खर्ब २६ अर्ब ७१ करोड ८० लाख रुपैयाँ प्रवाह गरेका नेपाल राष्ट्र बैंकले जनाएको छ । जुन एक वर्षअगिको तुलनामा दुई अर्ब आठ करोड ७० लाख रूपैयीले कम हो । गत वर्ष कात्तिक मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूले गाडी खरिदका लागि एक खर्ब २८ अर्ब ८० करोड ५० लाख रूपैया प्रवाह भएको थियो।

गत कात्तिक मसान्तसम्म वाणिज्य बैंकहरूले कुल ४६ खर्ब ७० अर्ब ६३ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गरेकोमा हायर पर्चेजका लागि एक खर्ब नौ अर्ब ५५ करोड ३० लाख रुपैयाँ प्रवाह गरेका छन् । जुन एक वर्षअघिको तुलनामा छ करोड ६८ लाख रुपैयाँ बढी हो। गत वर्ष कात्तिक मसान्तसम्म वाणिज्य बैंकहरुले ४४ खर्च एक अर्ब ३० करोड रुपैयाँ कर्जा प्रवाह गर्दा हायर पर्चेज क्षेत्रमा कुल एक खर्ब आठ अर्ब ८८ करोड ५० लाख प्रवाह गरेका थिए ।

गत कात्तिक मसान्तसम्म विकास बैंकहरुले पाँच खर्ब सात अर्ब ६३ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा हायर पर्चेजका लागि १३ अर्ब ८१ करोड २० लाख प्रवाह गरेका छन् । जुन एक वर्षअगिको तुलनामा दुई अर्ब ६७ करोड रुपैयाँ कम हो। गत वर्ष कात्तिक मत्सान्तसम्म विकास बैंकहरुले चार खर्ब ८२ अर्ब ३८ करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा हायर पर्चेजका लागि १६ अर्ब ४८ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

फाइनान्स कम्पनीहरुले गत कात्तिक मसान्तसम्म एक खर्ब दुई अर्ब एक करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा हायर पर्चेजका लागि तीन अर्ब ३५ करोड २० लाख रूपैयों प्रवाह गरेका छन् । जुन एक वर्षअघिको तुलनामा आठ करोड ६० लाख रुपैयाँ कम हो । गत वर्ष कात्तिक मसान्तसम्म फाइनान्स कम्पनीहरुले ९३ अर्ब ९६ करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा हायर पर्वेजका लागि तीन अर्ब ४३ करोड ८० लाख रुपैयाँ प्रवाह गरेका थिए ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता रामु पौडेलले गाडी खरिद कर्जामा मात्र होइन समग्र कर्जा प्रवाहमा केही मात्रामा कमी आएको बताएका छन् । उनका अनुसार देशको अर्थतन्त्र शिथिल हुँदा पनि गाडी खरिद कर्जामा असर परेको उनको भनाइ छ । बैंकले मानिससँग इक्विटी कम हुँदा पनि कर्जा प्रवाह नगर्ने उनले बताए । यस क्षेत्रमा बिस्तारै चलायमान हुँदै जाने उनको भनाई छ ।