Dhulikhel Eco Banner new

स्वागतयोग्य देखिएको मौद्रिक नीतिको सफलताको आधार कार्यान्वयनमै निर्भर हुन्छः सिइओ रेग्मी

2.12K
shares

काठमाडौं, २७ असार । नेपाल बैंकर्स संघका उपाध्यक्ष तथा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले राष्ट्र बैंकले ल्याएको मौद्रिक नीति स्वागतयोग्य रहेको प्रतिक्रिया दिएका छन्।

उनले नीति राम्रो देखिए पनि त्यसको सफल कार्यान्वयन र सर्कुलरमार्फत् आउने स्पष्ट दिशानिर्देशले नै अन्तिम परिणाम निर्धारण गर्ने बताएका हुन् ।

“मौद्रिक नीति त राम्रो छ, तर अब कसरी रिभिजन भएर आउँछ भन्ने कुरा हो,” रेग्मीले भने, “अहिले त घोषणा भयो, अब सर्कुलर कसरी आउँछ, कार्यान्वयन कसरी हुन्छ भन्ने कुरा मुख्य हो।”

उनले नीतिमा उद्योग व्यवसायलाई चलायमान बनाउने आधारहरू समेटिएको बताए। कर्जाको प्रवाह बढ्ने, ब्याजदर घट्ने, होम लोनमा लोन टु भ्यालु रेसियो बढाउने र शेयर कर्जाको सीमा विस्तार गर्नेजस्ता लचकदार व्यवस्था गरिएको उल्लेख गर्दै उनले नीति लचिलो भएको धारणा राखे।

“बेसरेट क्याल्कुलेसनमा यथार्थपरक परिमार्जन गर्ने भनिएको छ। प्रोभिजनिङको पुनरावलोकन गर्ने भनिएको छ, यसले क्यापिटलमा असर नपर्नेगरी सुधार गरिने अपेक्षा छ,” उनले थपे।

रेग्मीले नेपाल बैंकर्स संघको धेरै सुझाव मौद्रिक नीतिमा समेटिएको बताए। यद्यपि आरआरपीको प्रस्तावित दर अलिकति बढाइएको भए अझ राम्रो हुने धारणा पनि उनले राखे।

“सबै कुरा समेटिँदैन, तर मुख्य सुझावहरू समेटिएका छन्,” उनले भने, “अब सर्कुलर कसरी आउँछ र कार्यान्वयनमा कसरी लाग्छ भन्ने कुरामा ध्यान दिनुपर्ने हुन्छ।”

उनले नीति समग्रमा सकारात्मक रहेको र यसले आर्थिक क्रियाकलापमा गति ल्याउने विश्वास व्यक्त गरे।