जलशक्ति हाइड्रो कम्पनीले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल
वि.सं.२०८२ चैत २० शुक्रवार १५:१५
shares

काठमाडौं, २० चैत । जलशक्ति हाइड्रो कम्पनी लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने प्रक्रिया अगाडि बढाएको छ। कम्पनीले आईपीओ निष्कासनका लागि निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड लाई नियुक्त गरेको जनाएको छ।
धादिङ जिल्लाको ईल्लेप (तातोपानी) खोलामा निर्माणाधीन २३.६७५ मेगावाट क्षमताको जलविद्युत आयोजना विकास गरिरहेको कम्पनीले उक्त आयोजनामा लगानी जुटाउन आईपीओ ल्याउन लागेको हो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १ करोड कित्ता शेयर निष्कासन गर्दै कुल १ अर्ब रुपैयाँ बराबरको शेयर जारी गर्ने योजना बनाएको छ।
जारी गरिने शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, कम्पनीका कर्मचारी, सामूहिक लगानी कोष तथा सर्वसाधारणलाई वितरण गरिने जनाइएको छ। कम्पनीको कुल स्वामित्व संरचनामा संस्थापक समूहको ६० प्रतिशत र सर्वसाधारणको ४० प्रतिशत हिस्सा रहनेछ भने जारी पूँजी २ अर्ब ५० करोड रुपैयाँ रहनेछ।
नियुक्ति सम्बन्धी सम्झौतामा सानिमा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विकास खनाल र जलशक्ति हाइड्रो कम्पनीका तर्फबाट अध्यक्ष डा. भोगेन्द्र कुमार गुरागाईं ले हस्ताक्षर गरेका छन्। कम्पनीले आयोजनाको निर्माण कार्यसँगै लगानी विस्तार गर्न आईपीओ निष्कासन प्रक्रिया अघि बढाएको जनाएको छ।















