Dhulikhel Eco Banner new
HRM

झापा इनर्जीको आईपीओ बिक्री खुला

871
shares

काठमाडौं, १४ साउन । झापा इनर्जी लिमिटेडले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बुधवारदेखि प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) गरेको छ। कम्पनीले कुल ९ लाख ५० हजार ४७५ कित्ता शेयर प्रतिकित्ता १०० रुपैयाँ दरमा निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको हो।

पहिलो चरणमा आयोजना प्रभावितहरूका लागि ३ लाख ८० हजार १९० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ५७ हजार २९ कित्ता आईपीओ निष्कासन गरिएको छ। आयोजना प्रभावित मध्ये १ लाख ९० हजार ९५ कित्ता झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ४ मा आयोजना स्थलको १०० मिटर वरपरका बासिन्दाका लागि र बाँकी १ लाख ९० हजार ९५ कित्ता सोही नगरपालिकाको अन्य क्षेत्रका बासिन्दाका लागि छुट्याइएको छ।

आवेदकहरूले न्यूनतम १० कित्ता र अधिकतम ५ हजार कित्तासम्म माग गर्न सक्ने व्यवस्था गरिएको छ। आयोजनाको आईपीओ भर्न न्यूनतम १ हजार र अधिकतम ५ लाख रुपैयाँ लाग्नेछ। आयोजना प्रभावितले साउन १४ देखि २८ गतेसम्म आवेदन दिन सक्नेछन् भने पर्याप्त आवेदन नपरेमा यो म्याद भदौ १२ गतेसम्म लम्बिन सक्छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले साउन १४ देखि १८ गतेसम्म आवेदन दिन सक्नेछन् भने आवश्यक परेमा साउन २८ गतेसम्म म्याद लम्बिन सक्नेछ।

आयोजनाबाट प्रभावित आवेदकहरूले हिमालयन बैंक र माछापुच्छ्रे बैंकका सम्बन्धित शाखा तथा आयोजनास्थलबाट भौतिक फारम संकलन गरी आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेकाहरूले भने धितोपत्र बोर्डबाट स्वीकृत सी–आस्बा सेवा दिने बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालय वा मेरो शेयर एपमार्फत अनलाइन आवेदन दिन सक्नेछन्।

कम्पनीले ईक्रा नेपाल लिमिटेडबाट ‘ईक्राएनपी–आईआर बी माइनस’ क्रेडिट रेटिङ प्राप्त गरेको छ जसले समयमै वित्तीय दायित्व पूरा गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्छ। झापा इनर्जी लिमिटेडले सञ्चालन गरेको १० मेगावाटको ग्रिडमा आबद्ध सौर्य विद्युत आयोजना निर्माणको कुल लागत ८७ करोड ९० लाख रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत ८ करोड ७९ लाख रुपैयाँ रहेको छ।

आयोजनाको विद्युत अनुमतिपत्र अझै २२ वर्ष बाँकी रहेको छ। यो आयोजनामा गरिएको इक्विटी लगानी फिर्ता हुने अवधि ९.५५ वर्ष र परियोजनाको कुल लगानी फिर्ता हुने अवधि ८.०६ वर्ष रहेको छ भने छुट भएको नगद प्रवाहको आधारमा इक्विटीको लगानी फिर्ता हुने अवधि १३.४६ वर्ष र परियोजनाको १५.६६ वर्ष रहेको छ। पहिलो चरणको आईपीओ निष्कासनपश्चात कम्पनीले सर्वसाधारणका लागि दोस्रो चरणको आईपीओ ल्याउने तयारी गरेको छ । बिक्री प्रबन्धकको भूमिका हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।