Dhulikhel Eco Banner new

बहुराष्ट्रिय कम्पनीको ट्रेडमार्क चोरी उजुरीपछि उद्योग विभागको अल्टिमेटम

2.33K
shares

काठमाडौं, ४ चैत । विश्वप्रसिद्ध बहुराष्ट्रिय कम्पनीहरूले नेपालमा आफ्नो ट्रेडमार्क चोरी भएको भन्दै उजुरी हालेपछि उद्योग विभागले ११ वटा स्वदेशी कम्पनीलाई स्पष्टीकरण पेश गर्न अल्टिमेटम जारी गरेको छ।

विभागका अनुसार, यसअघि ‘संक्षिप्त कार्यविधि ऐन, २०२८’ बमोजिम म्याद सूचनासहित स्पष्टीकरण मागिएको भए पनि कुनै प्रतिक्रिया नआएपछि सार्वजनिक सूचना प्रकाशित गरिएको हो। विभागले सूचना प्रकाशन भएको मितिबाट ७ दिनभित्र कानुन शाखामा लिखित जवाफ नपरेमा एकतर्फी कारबाही अघि बढाइने चेतावनी दिएको छ।

उजुरी दिने कम्पनीहरूमा अमेरिका स्थित कोकाकोला, जुम कम्युनिकेसन्स, कार्टुन नेटवर्क, इनर्जी ब्रान्ड्स, ट्रेक बाइसाइकल, जर्मनीको ह्युगो बोस, र न्युजिल्यान्डको काठमाडौं लिमिटेड समावेश छन्।

कोकाकोलाले सुनसरीको प्रिमियर अर्गान्स प्रालिको ‘पलपल कोला’, पाथिभरा फुड एन्ड प्याकेजिङको ‘कुल कोला’, र ‘सुपर फ्यान्टास्टिक’ उत्पादनविरुद्ध उजुरी दर्ता गरेको छ। जुमले झापाको कविश मार्केटिङ प्रालिको ‘कविश जुम कस्मेटिक्स’ विरुद्ध उजुरी दर्ता गर्यो भने ह्युगो बोसले झापाको इमानुर फेसन वेयर इन्डस्ट्रिजविरुद्ध ‘बास’ ट्रेडमार्क प्रयोगको उजुरी दर्ता गर्यो।

त्यसैगरी, कार्टुन नेटवर्कले चितवनको नौलो फुड्स इन्डस्ट्रिज र भक्तपुरको पवित्रा लक्ष्मी फुड प्रोडक्ट्स विरुद्ध उजुरी दर्ता गरेको छ। इनर्जी ब्रान्ड्सले रुपन्देहीको एक्वा नेपाल बिसलेरी र काठमाडौंको मनोहरा फुड एन्ड बेभरेज विरुद्ध उजुरी दर्ता गरेको छ। काठमाडौं लिमिटेड र ट्रेक बाइसाइकलले क्रमशः काठमाडौं र वीरगञ्जका उद्योगहरू विरुद्ध उजुरी दिएका छन्।

नेपालमा बौद्धिक सम्पत्ति संरक्षण बढ्दै गएको भए पनि, विदेशी ब्रान्डसँग मिल्दोजुल्दो नाम राखेर स्थानीय उत्पादन गर्ने प्रवृत्ति देखिएको छ। उद्योग विभागको यो कदमले अन्तर्राष्ट्रिय र स्वदेशी ट्रेडमार्क संरक्षणमा कडाइको संकेत दिएको छ।