ट्रमा सेन्टरको ‘सुनिल क्यान्टिन’लाई वाणिज्य विभागले तिरायो ५ हजार जरिबाना
वि.सं.२०८२ फागुन ६ बुधवार १६:४८
shares

काठमाडौं, ६ फागुन। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मंगलबार काठमाडौंका विभिन्न १३ व्यावसायिक फर्ममाथि कारबाही तथा निर्देशन जारी गरेको छ। बजार अनुगमनका क्रममा कैफियत भेटिएपछि विभागले जरिबाना, स्पष्टीकरण र सुधारका लागि निर्देशन दिएको हो।
अनुगमनका क्रममा काठमाडौं महानगरपालिका–११ स्थित ट्रमा सेन्टर परिसरमा सञ्चालित ‘सुनिल क्यान्टिन’लाई ५ हजार रुपैयाँ जरिबाना गरिएको विभागले जनाएको छ। क्यान्टिनमा मूल्यसूची, सरसफाइ तथा अन्य उपभोक्ता संरक्षणसम्बन्धी मापदण्डमा कमजोरी भेटिएको जनाइएको छ।
त्यस्तै, चाबहिलमा रहेको ‘हेल्दी बाइट्स् सर्भिसेस प्रालि’लाई व्यवसायसँग सम्बन्धित आवश्यक कागजात तीन दिनभित्र विभागमा उपस्थित भई पेश गर्न निर्देशन दिइएको छ। आवश्यक कागजात समयमै पेश नगरे थप कारबाही प्रक्रिया अघि बढाइने चेतावनी विभागले दिएको छ।
अनुगमन गरिएका अन्य ११ फर्मलाई भने सामान्य सुधारका लागि निर्देशन दिइएको विभागले जानकारी दिएको छ। विभागले उपभोक्ताको हकहित संरक्षणका लागि नियमित अनुगमनलाई निरन्तरता दिइने जनाएको छ।















