राजा मारेर ठकुरी आए, कुल देउताले बस्न दिएनन्
वि.सं.२०८० कात्तिक २२ बुधवार १६:५७
shares

काठमाडौं, २२ कात्तिक । अब यो गाउँमा कोही पनि बञ्चरो लिएर दियालो चिर्न भन्दै सल्लाको रुख खोज्दै वन जाने छैनन् । टुकी बत्ति बाल्नका मट्टितेलको जोहो गर्नका लागि किनेको प्लाष्टिकका ग्यालिन पनि थन्क्याइसके । एक महिना भयो डोटीको बडीकेदार गाउँपालिकाको रिसेडी गाउँमा बिजुली बत्ती बल्न थालेको ।
‘अहिले त राति पनि दिउँसो जस्तो पो लाग्छ ।’ गाउँमा बिजुली आएपछि रातको आभास हुन छाडेको अनुभव गर्दैछन् गाउँले ।
गाउँका मुखिया प्रेमबहादुर बोहोराले संघीयताले गाउँमा विकास आएको महशुस् गरेका छन् ‘पहिला त बिजोग थियो अहिले हामीले बल्ल सास फेर्न पाएका छौं ।’ प्रेमबहादुरले भने । बोहोरा आफैंले ४० वर्ष दियालोकै उज्यालोमा बिताए । अरुका कुरा छाडौं स्कुल पढ्ने केटाकेटी पनि त्यहि दियालोकै उज्यालोमा पढ्थे । ‘गाउँमा दियालो बाहेक अरु थिएन । गाउँ छाडेर बाहिर जानेहरुले मट्टितेलबाट टुकी बल्ने कुरा थाहा पाएपछि मट्टितेलमा टुकी बाल्न थाले ।’ गाउँमा टुकी आएको कुरा सुनाए बोहोराले ।
बर्खा बाहेक गाउँका मान्छे मोटर चढेर सदरमुकाम जान सक्छन् भने ,घरमै आएको कलधारोले भित्रिबारी रसिलो बनाएको छ । गाउँका मान्छे भित्रिबारीमा उम्रेको साग बेचेर नुनतेलको खर्च जुटाउँछन् ।
राजा मारेर ठकुरी आए, कुल देउताले भगाए
यो ठाउँ बोहोराहरुको पुख्र्यौली गाउँ हो । धार्मिक रुपले असाध्यै महत्वपूर्ण मानिन्छ । बोहोराले सुनेका छन् ‘हाम्रो पूर्खाको पालामा बाइसे चौबिसे राज्य थियो । ठाँटे बर्खाल राजगद्दीमा थिए । उनकै आदेश चल्थ्यो ।
ठाँटे बर्खाल गद्दीमा बसेको वरिपरिका ठकुरीहरुलाई मन परिरहेको थिएन । बुढापाकाहरुबाट सुनेको कुरा बोहोराले हामीलाई यसरी सुनाए । ‘यता ठकुरीहरुले राजाका विरुद्ध उनीहरुकै मान्छेसँग साँठगाँठ गरे । खुकुरीमा साँध लगाउने, ढोके, बैठकेहरुलाई प्रभावमा परे र साखा सन्तान कोही पनि राजा हुन नपाउने गरि राजपरिवारको सदस्यको हत्या गरे । अनि उनीहरु गद्दीमा बसे ।’
बहोराको घरबाट पश्चिमपट्टि अहिले पनि राजदरवारको भग्नावशेस बाँकी छ । तत्कालिन कोट, न्यायालय (धर्मघर), सभाघरको भग्नावशेस बाँकी नै छ । अलि तल रानीहरुले नुहाउने ठाउँ छ । जसलाई नाहा भन्छन् । छोरीहरुले नुहाउने ठाउँ छुट्टै छ बुट्टा कुँदेको ढुंगाहरु अहिले पनि देखिन्छ । धान कुट्ने ओखललागयत पुराना चिजहरु अझै बाँकी छन् ।
बोहोराका अनुसार राजा मारेर ठकुरीहरुले गद्दी हात पारे पनि टिक्न सकेनन् । कारण काटिएका राजाको कुल देबता थिए कोट भैरब र नवदुर्गा भगवती । नयाँ राजाले कोट भैरब र नवदुर्गाको पूजा गर्न छाडे । गाउँलेहरुलाई लाग्छ ‘त्यसैको असर ठकुरी राजा ठाउँ छाड्न बाध्य भए । ठाउँ छाड्नु अघि ठकुरी राजाले बोहोरा खलकलाई भने ‘कोट भैरब र नवदुर्गाको पूजा गर्नु । ठकुरीहरुले कहिल्यै यो ठाउँमा राज्यको लोभ गर्ने छैनन् ।’ ठकुरी राजाहरुले नै बोहोराको खलकको जेठालाई जिम्मा लगाएर हिँडे । अहिले पनि जेठाकै निर्देशन अनुसार गाउँको काम अघि बढ्छ ।
बोहोरा भन्छन् ‘यी कालापत्थरलाई साक्षी राखेर ठकुरीहरुले हामीलाई जिम्मा लगाएका थिए त्यसपछि यहाँ कसैले पनि दावी गर्न आएनन् ।’
६० सालदेखि परम्परा छुट्यो
बोहोराको ८ हल लाग्ने खेत छ । त्यो खेतको रोपाई गाउँले जम्मा भएर गरिदिन्थे । ‘रोपाईका दिन गाउँका सबै जना खेतमा आउथे । गोरु हुनेले गोरु ल्याउथे नहुने खेताला आउथे । रोपाई सकिएपछि मलाई बोकेर घुमाउथे अनि त्यहिँ खसी काटेर खाने चलन थियो ।’ बोहोराले भने । ०५१ सालमा जनयुद्ध सुरु गरेको माओवादी प्रभाव ५८ मा बोहोरा गाउँमा पनि प¥यो ।
माओवादीहरुले भने ‘यसरी अरुलाई काम लगाएर धान खान पाइदैन ।’ अन्य बोहोरा दाजु भाइले त ‘यो हाम्रो परम्परा हो गर्छौ।’ भनेका थिए तर, प्रेमबहादुर आफैंले मानेनन् । गाउँलेलाई काममा लगाउने परम्परा उनकै पहलमा छुट्यो । उनको परिवारलाई मान्ने चलन अहिले पनि छ । ठूलो दशैं र चैते दशैंमा घरमा बलि गर्नेहरु फिला लिएर भेट्न आउँछन् । भदौमा एउटा ठेकीमा दही, केरा, पिँडालुको गुबो लिएर भेटन आउने चलन छ ।
नौ वर्षसम्म निजी स्रोतमा दुर्गा मावीमा शिक्षकको जागिर खाएका बोहोराले १४ वर्ष प्राविधिक दरबन्दीमा काम गरेँ । नेपाल सरकारको आन्तरिक प्रतिस्पर्धामा उनी सहभागी थिए तर, सानो प्राविधिक मिष्टेक संकेत नम्बर हाल्न बिर्सेकाले उनी स्वत अवकासमा परे । जागिर गएकोमा खासै दुखी देखिएनन् भन्छन् ‘बाँकी जीवन समाजसेवा गरेर बिताउँछु ।’
















