पूर्णबहादुरको सारङ्गी : हरेक घरमा छन् पूर्णबहादुर
वि.सं.२०८१ माघ २२ मंगलवार १७:५२
shares

नेपालमा यतिबेला पूर्णबहादुरको सारङ्गी चलचित्र हलहरुमा भव्य रुपमा प्रदर्शन भइरहेको छ । कात्तिक १५ गतेबाट देशभर प्रदर्शनमा आएको यो चलचित्रले अहिले आफ्नो छुट्टै परिचय बनाउनुका साथै दर्शकहरुको मन जित्न सफल भइसकेको छ । चलचित्रले बच्चादेखि वृद्धासम्मका सबैलाई भावुक बनाएको छ । गोंगबु इन्फिनिटी हलमा पुगेर उक्त फिल्म हेरेपछि केही लेख्न मन लाग्यो ।
पूर्णबहादुरको सारङ्गी भन्ने बित्तिकै हर कोहीले सजिलै बुझ्न सक्छन् कि यो सारङ्गीको विषयवस्तुलाई समेटेर बनाएको चलचित्र हो तर पुरै चलचित्र हेर्नेले मात्र बुझ्छन् कि यो एउटा बुवाले आफ्नो सन्तानप्रतिको जिम्मेवारी र छोराछोरीलाई आफ्नो खुट्टामा उभाउन सन्तानको सपना पुरा गर्न गरिने संघर्ष देखाउन खोजेको छ । मैले यो चलचित्र हेरेपछि के सोचे भने हरेक घरमा पूर्णबहादुर रहेको छ । यो चलचित्रले भावुक नबनाएको सायद कम नै होला ।
पूर्णबहादुर एउटा गन्धर्व परिवारको छोरा हुन्छ जसको परापूर्वकालदेखि नै गाउँगाउँमा गएर सारङ्गी बजाउदै गीत गाएर उनीहरुको जीवन कटाइरहेका हुन्छन् । उनीहरुको आर्थिक स्थिती एकदमै कमजोर हुन्छ र गरिखाने जग्गाजमिन पनि हुदैन सम्पतीको नाममा भने एउटा घर मात्र हुन्छ । पुर्णबहादुरको रोधीघरमा बाटुलीसँग गीत गाउने क्रममा नै भागी विवाह हुन्छ । विवाह भएको केहि समयमा उनिहरुको सन्तानको रुपमा छोरा जन्मिन्छ र छोराको जन्म हुदा पूर्णबहादुर एकदमै खुशी हुन्छ किनभने उसको छोराले बावुबाजेको बिडो धान्छ भन्नेमा उनी विश्वस्त थियो ।
एकातिर पूर्णबहादुर खुशी थियो भने अर्कातिर बाटुली भने खुशी थिएन उसले आफ्नो छोरो गाइने नबनेर पढेर ठुलो मान्छे होस भन्ने चाहन्थ्यो तर पुर्णबहादुरले भने आफ्नो छोरोलाई पनि सँगै लाने गर्थ्यो । यसैक्रममा बाटुली आफ्नो छोरोको राम्रो भविष्यका लागि उनि हर्केसँग बजार जाने मनसायले गएको हुन्छ भने हर्केले भने चिठीमा आफुसँग पोइला गएको लेखेको हुन्छ यो कुरा बाटुलीलाई पछि बाटोमा थाहा हुन्छ र छोरा कान्छा भने भागेर आफ्नो बुवासँगै बस्छ । यसरी सुरु हुन्छ पुर्णबहादुरको संघर्ष ।
कान्छाले अरुले विद्यालयको पोशाक लाउँदा उसलाई पनि लगाउन मन लाग्छ र अरुलाई काम नलाग्ने थोत्रो त्यो पोशाक लाएर मास्टरको घरमा जादा मास्टरले गाइनेको छोरोले लगाउने पोशाक होइन भन्दै त्यो कपडा खोल्न लगाउछ र उनीहरु त्यहाबाट निस्कन्छ र बाटोमा उसले बुख्याँचाले त्यस्तै पोशाक लगाएको देख्छ त्यतिबेला मलाइ भने मनमा चिसो पसेको थियो र त्यतिबेला म अलि भावुक भएको थिए ।
विस्तारै पुर्णबहादुरलाई पनि छोरोलाई पढाउने मन लाग्छ र कान्छालाई पहिलेदेखि नै पढ्ने रहर हुन्छ । उसले कान्छालाई पढाउन विद्यालय भर्ना गर्छ । पढ्ने क्रममा कान्छाले एउटा नाटकमा डाक्टर बनेर नाटक गर्छ । त्यसरी नाटक गर्ने क्रममा उसलाई सबले नमस्कार गरेको हुन्छ अनि उसले आफ्नो बुवालाई सोध्छ कि मलाई सबले किन नमस्कार गरेको ? पुर्णबहादुरले जवाफमा भन्छ कि तलाई नमस्कार गरेको होइन त्यो सेतो कोटलाई नमस्कार गरेको हो । यति सुनेपछि उसले त्यो कोट चोरेर आफ्नो बुवालाई दिन्छ र भन्छ बुवा तपाईलाई सबले हेप्छ यो कोट लगायो भने तपाइलाई पनि नमस्कार गर्छन् भन्दै दिदै हुन्छ तर पछाडिबाट मास्टरले उसलाई लौरोले कुट्छ । यति बेला पनि म भावुक हुन पुगेको थिए ।
त्यसपछि कान्छा एसएलसीमा जिल्लाकै प्रथम हुन्छ र सहर गएर डाक्टर विषयमा पढ्छ र उसले एमबिबिएस पढ्न पनि नाम निकाल्छ तर आफ्नो बुवालाई नाम निस्केन भनेर झुट बोलेको हुन्छ किनकी उनीहरुसँग पैसाको अभाव हुन्छ तर यो कुरा पुर्णबहादुरले थाहा पाउछ कि कान्छाको एमबिबिएस पढ्न नाम निस्केको र पैसाको पिर नगर तेरो काम पढ्ने मात्र हो उनले भने ।
त्यसपछि कान्छा फेरी सहर गएर पढ्न थाल्छ र पूर्णबहादुर आफ्नो छोरालाई डाक्टर बनाउन एकदम सङघर्ष गर्न थाल्छ र पैसा जम्मा गर्नतिर लाग्छ । सङ्घर्ष गर्दैगर्दा उसले एकदिन गाउँभरी मान्छे नभेटेपछि मन्दिरमा पुजा लगाइरहेको अवस्थामा सारङ्गी बजाउन थाल्छ तर त्यहाँको पुजारीले मन्दिरमा पुजा लगाउँदा सारङ्गी बजाउदा अपवित्र हुने भन्दै आक्रोस पोख्छ र गाउँका अरु केटाहरुले उसलाई घिच्याउँदै लडाइदिन्छ र उसलाई आफ्ना दाजुभाइले हस्पिटल लगेर उपचार त गराउछ तर उनी पहिलाजस्तो बोल्न पनि सक्दैन गीत गाउनु त परको कुरा हो ।
आफु अशक्त भएपछि सम्पतीको नाममा रहेको घर पनि बेच्छ । उनले पुख्र्यौली सारङ्गी पनि बेचेर कान्छाको पढाइको लागि पैसा जम्मा गर्छ र कान्छा डाक्टर बनेर पुर्णबहादुरलाई चिठी पठाउछ तर पुर्णबहादुरले आफ्नो भाइलाई चिठी पढ्न लगाउछ तर भाइले त्यो चिठी पढ्न अस्वीकार गरेपछि मास्टरलाई पढ्न लगाउने सोचले जान्छ । त्यतिखेर देशमा क्रान्ति चलिरहेकाले त्यो चिठी दिन सम्भावना नै थिएन । बिचरा पूर्णबहादुर आफ्नो छोरा डाक्टर बनेको खबर सुन्न नपाई उसले यो संसार छोडेर गइसकेको हुन्छ । जबकी कान्छाको आफ्नो बुवालाई सबैभन्दा पहिले उपचार गर्ने अठोट, अठोटमै सिमित हुन्छ ।
हरेक घरमा पूर्णबहादुर छन् :
यो चलचित्र हेरेपछि मलाई लाग्छ हरेक घरमा पूर्णबहादुर छन् । यसको अर्थ पुर्णबहादुरको क्यारेक्टर होइन हाम्रो आफ्नै बुवाआमा पनि त पूर्णबहादुर नै हो नी किनभने हाम्रा बुवाआमाले पनि आफ्नो सन्तानलाई हुर्काउनुभयो, पढाउनुभयो र आफ्नो खुट्टामा उभाउन कति संघर्ष गर्नुभयो । आफ्ना सन्तानको आवश्यकता पुरा गर्न आफ्नो कति आवश्यकताको बलिदान दिनुभयो यी सङघर्ष अनगिन्ती छन् । पढाइतर्फ मात्र हेर्ने हो भने सहरमा हर कोहीको आफ्नै घर छैन् र हरेक गाउँमा उच्च शिक्षाको व्यवस्था छैन् । हामी पनि उच्च शिक्षाको लागि सहर आएका छौ । यसरी हामीहरुलाई उच्च शिक्षा दिने क्रममा गाउँमा हाम्रो बुवाआमाको कति रगत पसिना बगेको छ हामीले यो अनुमान पनि गरिरहेका हुदनौै आफुले कुटो कोदालो बोकेर आफ्ना सन्तानलाई सहरमा पढाउने हाम्रा बुवाआमा पनि पूर्णबहादुर नै हुन् । फरक यति छ कि हाम्रा बुवाआमाको कहानी, संघर्ष पर्दामा नआएको मात्रै हो । मैले यो फिल्म हेर्दै गर्दा आफ्नो बुवाआमालाई धेरै पटक पटक सम्झिए किनकी आफुले हरेक दुख, कष्ट र संघर्ष गरेर मलाई यहाँसम्म पु¥यानुभयो । अझै मेरो प्रगतिको लागि दुख, कष्ट र संघर्ष गर्दैहुनुहुन्छ ।
यो फिल्म किन हेर्ने ?
एउटा बुवाले आफ्नो सन्तानको प्रगतिको लागि दुख, कष्ट र संघर्ष गर्दागर्दै आफ्नो जिवन सकिने पुर्णपाठ भएको कारणले नै यो फिल्म हेरौ लाग्छ । अहिलेको अवस्था हेर्दा गाउँमा बुवाआमाले सन्तानको उच्च शिक्षाको लागि सहर पठाएको हुन्छ तर कतिपय सन्तानले त्यो नबुझ्ने हुन्छ ति बुझ्ने सन्तानहरुले भने हेर्नैपर्ने फिल्म पूर्णबहादुरको सारङ्गी हो । यो फिल्म हेरेपछि दुख नभोग्नेहरुले पनि दुख के हो ? संघर्ष के हो ? भन्ने कुराको महशुस गर्न सक्छन् । चलचित्रमा सारङ्गी बजाएर दैनिकी जिवन बिताइरहेका पूर्णबहादुरकोे संघर्ष देखाइएको छ । पूर्णबहादुर जस्ता हरेक बुवाले आफ्ना इच्छा आकांक्षा त्याग गरी सन्तानको उज्वल भविष्यको निमित्त गरेको संघर्षलाई यस चलचित्रमा प्रस्तुत गरीएको छ । यस चलचित्रको मुख्य सन्देश भनेको सन्तानले पनि बुवाआमाको दुख बुझेर एउटा सफल व्यक्ति बनेर समाजमा उहाँहरुको इज्जत र प्रतिष्ठालाई सम्मानपूर्वक स्थापित गराउन सक्नुपर्दछ ।
– सरगम तामाङ पूर्णबहादुरको सारङ्गीको दर्शक