Dhulikhel Eco Banner new

स्मार्ट फ्राइडे इन्साइट सिरिज औपचारिक रूपमा शुभारम्भ, लगानीकर्तालाई ज्ञान र आत्मविश्वास प्रदान गर्ने लक्ष्य

3.43K
shares

काठमाडौं, १४ पुस । स्मार्ट ग्रोथ भेन्र्चस प्रा.लि. ले नयाँ वर्ष २०२६ को अवसरमा पुँजीबजारसम्बन्धी ज्ञान, स्पष्टता र आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्यसहित स्मार्ट फ्राइडे इन्साइट सिरिज को औपचारिक शुभारम्भ गरेको छ। यो कार्यक्रम हरेक शुक्रबार साँझ ६ः३० देखि ८ः०० बजेसम्म गुगल मिट तथा युट्युब लाइभमार्फत सञ्चालन गरिनेछ।

स्मार्ट (स्टक मार्केट एनालाइसिस एन्ड रिसर्च टिम) एक शिक्षामूलक तथा अनुसन्धान केन्द्रित संस्था हो, जसले पुँजीबजारमा संलग्न लगानीकर्तालाई सही जानकारी, विश्लेषण र मार्गदर्शन प्रदान गर्दै आएको छ। संस्थाले लगानीकर्तालाई वित्तीय रूपमा सशक्त बनाउने, पुँजीबजारसम्बन्धी यथार्थपरक जानकारी प्रवाह गर्ने तथा ब्रोकर र लगानीकर्ताबीच विश्वासको सम्बन्ध मजबुत बनाउने लक्ष्य लिएको जनाएको छ।

यसअघि पनि स्मार्टले विभिन्न ब्रोकर संस्थासँग सहकार्य गर्दै शेयर बजारसम्बन्धी तालिम, लगानीकर्ता शिक्षा तथा वित्तीय जागरण कार्यक्रम सञ्चालन गरिसकेको छ। स्मार्ट फ्राइडे इन्साइट सिरिज ती प्रयासहरूको निरन्तरता हो, जसले लगानीकर्तालाई अफवाहभन्दा टाढा राख्दै जिम्मेवार, सूचित र दीर्घकालीन सोच भएका लगानीकर्ता बन्न सहयोग पुर्‍याउने विश्वास लिइएको छ।

कार्यक्रममा नयाँ लगानीकर्ता, सेयर बजारमा सक्रिय व्यक्तिहरू, ट्रेडिङ तथा दीर्घकालीन लगानीमा रुचि राख्ने व्यक्ति र वित्तीय साक्षरता अभिवृद्धि गर्न चाहने जो–कोही सहभागी हुन सक्नेछन्। पहिलो एपिसोड सिटिजन्स शेयर ब्रोकर लिमिटेडसँग सहकार्यमा सञ्चालन हुनेछ, जसमा प्रमुख वक्ताका रूपमा चार्टर्ड एकाउन्टेन्ट मनिष आर्याल सहभागी हुनेछन् र ‘कोलेटरलको स्मार्ट प्रयोग’ विषयमा छलफल गरिनेछ।

स्मार्ट ग्रोथ भेन्र्चस प्रा.लि. ले ज्ञानमा आधारित लगानी संस्कृतिको विकासका लागि देशभरका सम्पूर्ण लगानीकर्तालाई स्मार्ट फ्राइडे इन्साइट सिरिजमा सहभागी हुन आग्रह गरेको छ।