Dhulikhel Eco Banner new

नेपालको आर्थिक वृद्धिदर ४.६ प्रतिशत, बागमती प्रदेशको योगदान अग्रस्थानमा

1.29K
shares

काठमाडौं, १७ पुस । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक गतिविधि अध्ययन (एकीकृत) वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८१/८२ मा नेपालको आर्थिक वृद्धि सुधारोन्मुख देखिएको छ। उपभोक्ताको मूल्यमा आर्थिक वृद्धिदर ४.६ प्रतिशत र प्रचलित मूल्यमा ४.० प्रतिशत पुगेको छ, जुन अघिल्लो आर्थिक वर्षको ३.७ प्रतिशतको तुलनामा उल्लेखनीय सुधार हो।

राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८१/८२ मा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा कृषि क्षेत्रको योगदान २५.२ प्रतिशत, उद्योग क्षेत्रको १२.८ प्रतिशत र सेवा क्षेत्रको योगदान ६२ प्रतिशत रहने प्रारम्भिक अनुमान गरिएको छ। प्रदेशगत रूपमा बागमती प्रदेशको योगदान सबैभन्दा बढी ३६.५ प्रतिशत रहेको छ भने कोशी प्रदेशको हिस्सा १५.९ प्रतिशत र कर्णाली प्रदेशको हिस्सा सबैभन्दा कम ४.२ प्रतिशत रहेको छ।

समीक्षा अवधिमा प्रमुख कृषि बालीको उत्पादन ३.७ प्रतिशतले बढे पनि खेतीयोग्य क्षेत्रफल २.२ प्रतिशतले घटेको छ। तरकारी उत्पादन १०.१ प्रतिशतले वृद्धि भएको छ भने मसला उत्पादन ०.७ प्रतिशतले बढेको र फलफूल उत्पादन ३.३ प्रतिशतले घटेको छ। पशुजन्य उत्पादनतर्फ दूध उत्पादन १.० प्रतिशत र मासु उत्पादन ०.३ प्रतिशतले घट्दा अण्डा उत्पादन भने १.० प्रतिशतले बढेको छ। वनजन्य उत्पादनमा काठ र दाउराको उत्पादन बढे पनि औषधिजन्य वस्तुको उत्पादन घटेको प्रतिवेदनमा उल्लेख छ।

औद्योगिक क्षेत्रतर्फ अध्ययनमा समेटिएका उद्योगको औसत क्षमता उपयोग ४४.५ प्रतिशतमा सीमित रहेको छ, जुन अघिल्लो वर्ष ४८.३ प्रतिशत थियो। २०८२ असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको कुल कर्जामध्ये औद्योगिक क्षेत्रको हिस्सा ३०.४२ प्रतिशत रहेको छ।

पर्यटन क्षेत्रमा भने सामान्य सुधार देखिएको छ। आर्थिक वर्ष २०८१/८२ मा नेपाल भ्रमण गर्ने पर्यटकको संख्या १.७ प्रतिशतले बढेर ११ लाख ४७ हजार ८३४ पुगेको छ। तर घर–भवन नक्शा पास संख्या १.२ प्रतिशतले घटेको छ भने घरजग्गा रजिष्ट्रेशनबाट प्राप्त राजस्व १८.६ प्रतिशतले घटेको छ।

बैंकिङ क्षेत्रमा २०८२ असार मसान्तसम्म निक्षेप १२.५ प्रतिशतले र कर्जा प्रवाह ८.२ प्रतिशतले वृद्धि भएको छ। औसत कर्जा–निक्षेप अनुपात ७६.६ प्रतिशत कायम रहेको छ। कुल निक्षेप र कर्जामा बागमती प्रदेशको हिस्सा सबैभन्दा बढी रहेको छ।

पूर्वाधार विकासतर्फ समीक्षा वर्षमा १ हजार २३५ किलोमिटर कालोपत्रे सडक, २८७ किलोमिटर ग्राभेल सडक र ३०१ किलोमिटर नयाँ ट्रयाक निर्माण भएको छ भने ३७० किलोमिटर सडक मर्मत गरिएको छ। सवारी साधन दर्ता संख्या पनि ३७.८ प्रतिशतले वृद्धि भएको छ।

व्यापारतर्फ कुल वस्तु निर्यात ८१.८ प्रतिशतले बढेर २ खर्ब ७७ अर्ब रुपैयाँ नाघेको छ भने आयात १३.३ प्रतिशतले बढेर १८ खर्ब रुपैयाँभन्दा बढी पुगेको छ। वैदेशिक रोजगारीमा जानेको संख्या ८ लाख ३९ हजार नाघेको छ, जसमा मधेश प्रदेशको हिस्सा सबैभन्दा बढी र कर्णाली प्रदेशको सबैभन्दा कम रहेको छ।

बजेट कार्यान्वयनतर्फ संघीय सरकारले विनियोजित बजेटमध्ये ८९.४ प्रतिशत खर्च गरेको छ भने प्रदेश सरकारहरूको बजेट खर्चमा पुँजीगततर्फ ठूलो हिस्सा रहेको छ।

राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ मा मुद्रास्फीतिको चाप न्यून रहने र आर्थिक गतिविधि थप सुदृढ हुने अनुमान छ। इन्धन र खाद्य वस्तुको मूल्य घट्दो रहनु, ब्याजदरमा कमी, जलविद्युत् उत्पादन वृद्धि, पर्यटन, निर्यात र विप्रेषणमा सुधार तथा मौद्रिक सहजताका कारण आगामी वर्ष आर्थिक वृद्धि औसतभन्दा माथि रहने राष्ट्र बैंकको निष्कर्ष छ।