जुत्ता चप्पल उद्योग व्यवसायी संघले गर्यो जेनजी उद्यमी सम्मान, ४ युवा सम्मानित
वि.सं.२०८२ माघ १० शनिवार १५:४२
shares

काठमाडौं, १० माघ । नेपाल जुत्ता चप्पल उद्योग व्यवसायी संघले चार जना जेनजी उद्यमीलाई सम्मान गरेको छ। संघको १२ औँ साधारणसभा तथा छैठौं महाधिवेशनको अवसरमा पवन कटुवाल, यमन बास्तोला, योगेन्द्र कार्की र कल्याण न्यौपानेलाई सम्मान गरिएको हो।
नेपालमा केही छैन भन्दै वैदेशिक रोजगारीतर्फ युवाहरूको ठूलो लर्को लागिरहेका बेला नेपालमै बसेर जुत्ता–चप्पल उद्योगमार्फत उद्यमशीलता विकासमा योगदान पुर्याएको भन्दै उनीहरूलाई ‘जेनजी उद्यमी सम्मान’ प्रदान गरिएको संघले जनाएको छ।
संघका अनुसार सम्मानित उद्यमीहरूले सीमित स्रोतसाधन र चुनौतीपूर्ण अवस्थाका बाबजुद स्वदेशमै उत्पादन, रोजगारी सिर्जना र आयात प्रतिस्थापनमा महत्वपूर्ण भूमिका खेलेका छन्। उनीहरूको उद्यमशील यात्राले अन्य युवालाई पनि नेपालमै केही गर्न सकिन्छ भन्ने सन्देश दिएको संघको निष्कर्ष छ।















