सात महिनामा १ खर्ब ६८ अर्बको निर्यात, व्यापार घाटा भने अझै बढ्दो
वि.सं.२०८२ फागुन ८ शुक्रवार १६:३१
shares

काठमाडौं, ८ फागुन । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो सात महिना (साउन–माघ) मा नेपालको वैदेशिक व्यापारको आकार उल्लेख्य रूपमा विस्तार भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आयात र निर्यात दुवैमा सुधार देखिएको छ।
विभागका अनुसार चालु आर्थिक वर्षको माघ मसान्तसम्म कुल वैदेशिक व्यापार १२ खर्ब ९१ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ । यो गत वर्षको सोही अवधिको तुलनामा १५.७६ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको यसै अवधिमा कुल वैदेशिक व्यापार ११ खर्ब १५ अर्ब रुपैयाँ रहेको थियो।
समीक्षा अवधिमा नेपालको निर्यात व्यापारमा उल्लेख्य सुधार देखिएको छ । सात महिनामा १ खर्ब ६८ अर्ब १४ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ३२।१९ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको माघसम्म १ खर्ब २७ अर्ब २० करोड रुपैयाँ बराबरको मात्र निर्यात भएको थियो।
निर्यातसँगै आयातको आकार पनि बढेको छ । चालु आवको सात महिनामा ११ खर्ब २३ अर्ब ४८ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यो अघिल्लो वर्षको तुलनामा १३.६५ प्रतिशतले बढी हो।
निर्यात वृद्धि भए पनि आयातको उच्च परिमाणका कारण व्यापार घाटा भने बढेको छ। माघ मसान्तसम्म नेपालको व्यापार घाटा ९ खर्ब ५५ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा व्यापार घाटा ८ खर्ब ६१ अर्ब रुपैयाँ रहेको थियो। यस अनुसार व्यापार घाटा १०.९१ प्रतिशतले वृद्धि भएको देखिन्छ।
निर्यातको वृद्धिदर आयातको तुलनामा उच्च रहेकाले आयात–निर्यात अनुपातमा भने सुधार आएको छ। गत वर्ष नेपालले १ रुपैयाँको निर्यात गर्दा ७.७७ रुपैयाँको आयात गर्ने अवस्था रहेकोमा चालु आर्थिक वर्षमा यो अनुपात घटेर ६.६८ मा झरेको छ।
कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा पनि बढेको छ। गत वर्ष ११.४० प्रतिशत रहेको निर्यातको हिस्सा बढेर चालु आवमा १३.०२ प्रतिशत पुगेको छ भने आयातको हिस्सा ८८.६० प्रतिशतबाट घटेर ८६.९८ प्रतिशतमा सीमित भएको छ।
वैदेशिक व्यापारमा निर्यात सुधार भए पनि आयातमा निर्भरता कायम रहँदा व्यापार सन्तुलन अझै चुनौतीपूर्ण रहेको देखिएको छ।















