सात महिनामा नेपालमा झण्डै १४ अर्बको विद्युतीय सवारी आयात
वि.सं.२०८२ फागुन ८ शुक्रवार १७:२८
shares

काठमाडौं, ८ फागुन । चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो सात महिनामा नेपालमा विद्युतीय सवारी साधन (ईभी) आयात उल्लेख्य रूपमा बढेको छ । भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि माघसम्मको अवधिमा नेपालले १३ अर्ब ८४ करोड ७७ लाख रुपैयाँभन्दा बढी मूल्यका विद्युतीय कार, जिप तथा भ्यान आयात गरेको छ।
यस अवधिमा कुल ५ हजार ८९४ युनिट ईभी नेपाल भित्रिँदा सरकारले ८ अर्ब ४६ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ । पछिल्लो समय इन्धन खर्च घटाउने र वातावरणमैत्री यातायातप्रति बढ्दो आकर्षणका कारण ईभी आयात निरन्तर वृद्धि हुँदै गएको देखिन्छ।
देशगत विवरण हेर्दा नेपाली ईभी बजारमा चीनको प्रभुत्व कायम रहेको देखिएको छ । सात महिनामा चीनबाट मात्रै ४ हजार २०४ युनिट विद्युतीय सवारी नेपाल आयात भएका छन्, जसको मूल्य करिब ९ अर्ब ९० करोड रुपैयाँ रहेको छ ।
यो कुल ईभी आयातको ७१ प्रतिशतभन्दा बढी हिस्सा हो । प्रतिस्पर्धी मूल्य, नयाँ प्रविधि र विविध मोडल उपलब्धताका कारण चिनियाँ ब्रान्ड नेपाली उपभोक्तामाझ लोकप्रिय बन्दै गएका छन्। चीनबाट आयात भएका सवारीबाट मात्रै ६ अर्ब रुपैयाँभन्दा बढी राजस्व सरकारले प्राप्त गरेको छ।
चीनपछि भारत नेपालमा विद्युतीय सवारी निर्यात गर्ने दोस्रो ठूलो मुलुक बनेको छ । समीक्षा अवधिमा भारतबाट १ हजार २६३ युनिट ईभी आयात भएका छन्, जसको कुल मूल्य २ अर्ब ६५ करोड रुपैयाँभन्दा बढी छ।
त्यसैगरी थाइल्याण्डबाट पनि ईभी आयात विस्तार हुँदै गएको छ । सात महिनामा थाइल्याण्डबाट १ अर्ब १३ करोड रुपैयाँ बराबरका ४०१ युनिट विद्युतीय सवारी नेपाल भित्रिएका छन्।
सरकारले विद्युतीय सवारी प्रवर्द्धनका लागि कर सहुलियत, चार्जिङ स्टेशन विस्तार तथा हरित ऊर्जाको प्रयोगलाई प्राथमिकता दिएसँगै नेपालमा ईभीको माग तीव्र रूपमा बढ्दै गएको देखिन्छ । निजी सवारीसँगै सार्वजनिक तथा व्यावसायिक क्षेत्रमा समेत विद्युतीय सवारीको प्रयोग विस्तार हुँदै गएको छ।















