Dhulikhel Eco Banner new

काठमाडौं पाँचौँ स्थानमाः वायु प्रदूषण अत्यन्त अस्वस्थकर तहमा

2.41K
shares

काठमाडौं, १५ फागुन राजधानी काठमाडौं विश्वका सबैभन्दा प्रदूषित सहरमध्ये पाँचौँ स्थानमा पुगेको छ। स्विजरल्यान्डस्थित अन्तर्राष्ट्रिय वायु प्रदूषण मापन संस्था आइक्यु एयर का अनुसार शुक्रबार काठमाडौंको वायु गुणस्तर सूचकांक १५८ पुगेको छ ।

विश्वका प्रमुख सहरहरूमध्ये भियतनामको हनोई १६४ अंकसहित पहिलो, पाकिस्तानको लाहोर १६२ अंकसहित दोस्रो स्थानमा रहेका छन्। त्यसैगरी भारतका कोलकाता र दिल्ली १६० अंकका साथ क्रमशः तेस्रो र चौथो स्थानमा छन्।

वायु गुणस्तर सूचकांक ० देखि ५० सम्म राम्रो मानिन्छ। २०१ देखि ३०० सम्म पुगेमा वैजनी रङ अर्थात् अत्यन्त अस्वस्थकर तह मानिन्छ भने ३०० भन्दा माथि पुगेमा मरुन रङ अर्थात् घातक स्तर मानिन्छ। वैजनी तहमा खुलेआम शारीरिक गतिविधि नगर्न विज्ञहरूले सुझाव दिएका छन्।

विज्ञहरूका अनुसार डिजेल इन्धनबाट चल्ने सवारीसाधन, वन डढेलो, इँटा उद्योग, कृषि अवशेष जलाउने र फोहोर बाल्ने जस्ता गतिविधि वायु प्रदूषणका मुख्य कारण हुन्। यसले श्वासप्रश्वाससम्बन्धी समस्या, फोक्सोको क्यान्सर, मुटुरोग, उच्च रक्तचाप तथा मस्तिष्कघातजस्ता गम्भीर रोगको जोखिम बढाउने देखिएको छ।

स्वास्थ्यकर्मीहरूले मास्क प्रयोग गर्न, बाहिरी गतिविधि कम गर्न तथा बालबालिका, वृद्ध र दीर्घरोगीले विशेष सावधानी अपनाउन आग्रह गरेका छन्।