Dhulikhel Eco Banner new

नितिमा कार्कीको प्रतिबद्धता : ‘जितेर हराउने होइन, सधैं सँगै रहने प्रतिनिधि बन्नेछु’

1.92K
shares

सर्लाही  । राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार नितिमा कार्कीले आफू पद वा सुविधाका लागि नभई ‘माटोको ऋण तिर्न’ चुनावी मैदानमा आएको बताएकी छन् । सर्लाही क्षेत्र नम्बर १ का मतदातासँगको भेटघाट तथा चुनावी कार्यक्रममा बोल्दै उनले स्थानीयमै स्थायी सम्पर्क कार्यालय स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

‘म चुनाव जितेर भाग्ने उम्मेदवार होइन,’ कार्कीले भिडियो सन्देशमा भनेकी छिन्, ‘म तपाईंहरूसँगै बस्ने, सँगै लड्ने र सँगै समाधान खोज्ने प्रतिनिधि बन्न चाहन्छु ।’

सर्लाहीमै जन्मेर हुर्किएकी उनले आफूले यहाँका समस्या नजिकबाट देखेको उल्लेख गर्दै विगतमा निर्वाचित जनप्रतिनिधिहरू चुनावपछि काठमाडौं केन्द्रित हुने गरेको गुनासो दोहोरिएको बताइन् । आफू निर्वाचित भए सर्लाहीमै स्थायी सचिवालय र काठमाडौंमा समन्वय कार्यालय राख्ने घोषणा उनले गरिन् ।

रोजगारी र कृषि औद्योगिकीकरण प्राथमिकता

कार्कीले आफ्नो उम्मेदवारीलाई रोजगारी सिर्जनासँग जोड्दै कृषि, साना उद्योग, सीपमूलक तालिम र महिला उद्यमशीलतालाई प्राथमिक एजेन्डा बनाएको बताइन् ।

‘भाषण होइन—रोजगारी चाहिएको छ, नारा होइन—अवसर चाहिएको छ,’ उनले भनिन् ।

महिला उद्यमीका रूपमा आफूले व्यवसायिक अनुभव बटुलेको उल्लेख गर्दै उनले सर्लाहीमा उत्पादन हुने कृषिजन्य वस्तुलाई उद्योगसँग जोडेर मूल्य अभिवृद्धि गर्ने योजना रहेको जानकारी दिइन् । यसबाट युवाहरूलाई स्वदेशमै रोजगारी सिर्जना गर्न सकिने उनको दाबी छ ।

मधेशका सवालमा स्पष्ट अडान

कार्कीले मधेश सधैं प्रयोगमा परे पनि प्राथमिकतामा नपरेको टिप्पणी गर्दै समान अधिकार, सम्मान र अवसरका लागि आफूले आवाज उठाउने बताइन् ।

‘न्याय माग्दा गोली र अधिकार माग्दा मुद्दा लगाउने इतिहास अब बदल्नुपर्छ,’ उनले भनिन् । आफू कुनै पुरानो शक्ति संरचनाको प्रतिनिधि नभएको उल्लेख गर्दै उनले नागरिक केन्द्रित राजनीति गर्ने प्रतिबद्धता जनाइन् ।

मतदातासँग अपिल

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा घण्टी चुनाव चिह्नमा मतदान गर्न कार्कीले मतदातासँग अपिल गरिन् ।

‘सर्लाहीले अब फर्केर नआउने सांसद होइन, सधैं साथमा रहने प्रतिनिधि खोजेको छ,’ उनले भनिन् । सर्लाही–१ मा यसपटक पुराना र नयाँ अनुहारबीच प्रतिस्पर्धा देखिएको छ । चुनावी नतिजाले क्षेत्रको मात्र होइन, मधेश प्रदेशको राजनीतिक दिशालाई पनि संकेत गर्ने आकलन गरिएको छ ।