एकै महिना १ लाख ५ हजार पर्यटक भित्रिए
वि.सं.२०८२ फागुन १९ मंगलवार १७:१८
shares

काठमाडौं, १९ फागुन । फेब्रुअरी २०२६ मा नेपालमा १ लाख ५ हजार ४ सय ४१ पर्यटक भित्रिएका छन्। नेपाल पर्यटन बोर्डले अध्यागमन विभागको तथ्यांकअनुसार सोही अवधिको तुलनामा ८.८ प्रतिशत बढी हो। फेब्रुअरी २०२५ मा ९६ हजार ८ सय ८० पर्यटक नेपाल आएका थिए भने सन् २०१९ मा १ लाख २ हजार ४ सय २३ पर्यटक मात्रै आएका थिए।
नेपालमा पर्यटक आगमनमा सुधार आउनुमा भारतीय पर्यटकको वृद्धि मुख्य कारण बनेको छ। यस वर्ष २२ हजार ७ सय ४५ भारतीय पर्यटक नेपाल आएका छन्, जुन गत वर्षको तुलनामा १८.५ प्रतिशत बढी हो। उत्तरी छिमेकी चीनबाट ३०.६ प्रतिशत, श्रीलंकाबाट ७२ प्रतिशत र म्यानमारबाट ९१.६ प्रतिशत पर्यटक आगमन बढेको देखिएको छ। मलेसिया, थाइल्यान्ड र अन्य बौद्धमार्गी देशबाट पनि उत्साहजनक सुधार देखिएको छ।
बंगलादेशबाट आउने पर्यटकमा ३३.७ प्रतिशत गिरावट आएको छ। अमेरिकाबाट आउने पर्यटक संख्या घटेर ९ हजार ७ सय १० पुगेको छ, जबकि बेलायतबाट आगमनमा ११.१ प्रतिशत वृद्धि भएको छ। अस्ट्रेलियाबाट आउने पर्यटक संख्या पनि घटेको छ।
जनवरी २०२६ मा नेपालमा ९२ हजार ७ सय ५३ पर्यटक भित्रिएका थिए। मासिक हिसाबले जनवरी र फेब्रुअरी दुवैमा आगमनमा सुधार देखिनुले २०२६ नेपाल पर्यटनका लागि आशाजनक वर्ष बन्ने संकेत गरेको छ।













