यसो गर बालेन ! २० वर्ष देश तिमीलाई…
वि.सं.२०८२ फागुन २७ बुधवार ०७:५५
shares

सोडा मिसाएको पाँच मुठ्ठी दूध एकै छिनमा फाट्छ, संगैको पसले “यो त ताजै हो नि !!” भन्दै ढुक्कसँग ढाँट्छ । चामल किन्दा घुन सित्तैमा, दाल किन्दा ढुंगा सित्तैमा, वाक्कदिक्क भएका नेपाली जनलाई, ढुंगा बेच्ने र दाल बेच्नेहरू छुट्याइदेऊ बालेन !! बीस वर्ष यो देश तिमीलाई ।
सन २००६ मा विशाल आन्दोलन हुँदा चान्सलर मर्केलले भनिन्, “How can I compare you to those who taught you” यत्ति हुनाले जर्मनी, हिजो आज र भोलि पनि जर्मनी नै रहनेछ। शिक्षासँग कसैको तुलना हुनै सक्दैन । शिक्षालाई एक नम्बर रोजाइको पेशा बनाइदेऊ बालेन ! बीस वर्ष यो देश तिमीलाई ।
दिनरात नभनी छोरा पढ्छ र डाक्टर बन्छ । अस्पतालको चौघेरामै छोरा कुटिन्छ कि भन्ने डर बाबुआमामा भइरहन्छ । जन्म र मृत्युको सामान्य चक्र नबुझ्नेहरू डाक्टर कुट्दै छन्, झण्डै जीवनदान दिने देवता समान डाक्टरहरू कुट्ने प्रथा बन्द गराइदेऊ बालेन ! बीस वर्ष यो देश तिमीलाई ।
बसाइँ र विकास सँगसँगै हुनुपर्ने रहेछ बालेन, अहिले गाउँका ढलेका धुरीले कुरीकुरी भन्दैछ कालोपत्रे सडकलाई । गाउँलाई भन्दा पनि ठेकेदारका लागि ती विकास, गाउँ लगियो । गाउँलाई माया गरेर विकास गाउँ–गाउँ पुर्याइदेऊ बालेन !! बीस वर्ष यो देश तिमीलाई ।।
सुविधाका नाममा इतिहास बोकेका हजारौँ पाटी, पौवा र चौताराहरू मासियो, जता–जता ठूला रूख छन्, सडकको डिजाइन त्यतैतिर कोरियो । भगवानको अवतार मानिने हाम्रा वर, पीपल, समी र आपलाई शत्रु ठान्ने यो सडक विस्तार रोकिदेऊ न बालेन, बीस वर्ष यो देश तिमीलाई ।
दुई वर्ष भन्सार बस्ने कर्मचारी सुरक्षाका लागि दुई वर्ष अख्तियार बस्छ र पुनः मालपोत छिर्छ । राजस्व, एयरपोर्ट, भन्सार र मालपोत बसेको तरमारा स्वाँठहरू, आफ्नै लुटेको सम्पत्ति चोख्याउन अख्तियारको मुखिया नबनोस् । यति गर बालेन !! बीस वर्ष यो देश तिमीलाई ।
खुट्टामा चप्पल नभएका राजकुमार सुडीका बाबु–छोरा सर्वोच्चको पर्चा हातमा लिएर मरे, नातिले तारिख धान्दै छ । हरेक पल्ट सर्वोच्चमा नयाँ मुखिया आउँछन् र ठुक्कसँग भन्छन्, “अब अदालतमा भ्रष्टाचार बन्द हुन्छ” । साँच्चै अदालतमा भ्रष्टाचार बन्द गरिदेऊ न बालेन !! बीस वर्ष यो देश तिमीलाई ।
भान्सामा जाने तरकारी कालीमाटीमा, खुट्टामा लाउने जुत्ता दरबारमार्गमा । किसान र बिचौलियाको अवस्था यत्तिले बुझिन्न र बालेन । यसलाई पूरै उल्ट्याउन नसके पनि थोरै सुधार गरिदेऊ न बालेन !! बीस वर्ष यो देश तिमीलाई ।
रौतहटका उखु किसान माइतीघरमा रुन्छन्, दूध लिएर चितवनवासी सडकमा पोख्छन्, न सरकारबाट अनुदान पाउँछन्, न कुनै सहयोग । कृषिप्रधान देशको यो हरिबिजोग, थोरै सुधार गरिदेऊ न बालेन !! बीस वर्ष यो देश तिमीलाई ।
सुरक्षाका जवानलाई सधैँ जवान नै राख्ने हो भने पचाउनै मुस्किल हुने चिनी किन खानुपर्यो । गुल्मीको गुण सेना र पुलिसको भान्सासम्म पुर्याइदेऊ न बालेन । चियामा सख्खर हाल्छन्, सरबतमा खुदो, दुई पैसा पाए भने किसान लाग्छन् उभो । यत्ति गर बालेन !! बीस वर्ष यो देश तिमीलाई ।
पानी पिएर घाँस खाएर अमृत समान दूध दिने क्षमता संसारका कुनै महँगा मेशिनसँग हुँदैन त्यसैले गाईलाई गौमाता भनिएको हो । गाईको संरक्षण र राष्ट्रगुरुको शिक्षानीति लागू गर बालेन ! बीस वर्ष यो देश तिमीलाई ।
संसारका लागि जीवन मानिएको पानी, हाम्रो साधन हो, हाम्रो सम्पत्ति हो । “उद्योगे नास्ति दरिद्रम” आफ्नै सम्पत्तिको व्यापार नगरी धनी बन्न सकिन्न । सतीले सरापेको होइन हामीलाई, पानीले सरापेको छ । दिनरात खेर गएको पानीको गाली खानबाट बचाइदेऊ, बालेन ! बीस वर्ष यो देश तिमीलाई ।
देख्ने र लेख्ने कुरा धेरै छन् यहाँ । सँगत गरे सबै आफ्नै लाग्छन् । साँच्चै देश बनाऊ बालेन, दशौँ हजार कुमार बेनहरू ज्यान दिन तयार छन् यहाँ । जनताको अन्तिम आशा छाती ठूलो बनाऊ बालेन ! धेरै त नभनूँ, कम्तिमा ।
बीस वर्ष यो देश तिमीलाई,
कम्तिमा बीस वर्ष नेपाल तिमीलाई ।















