रवि लामिछानेले चुनावमा गरे ९ लाख ८९ हजार रुपैयाँ खर्च
वि.सं.२०८२ फागुन २७ बुधवार १०:२७
shares

काठमाडौं, २७ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रतिनिधिसभा निर्वाचनमा करिब पौने १० लाख रुपैयाँ खर्च गरेको विवरण सार्वजनिक भएको छ।
जिल्ला निर्वाचन कार्यालय चितवनमा बुझाइएको खर्च विवरणअनुसार लामिछानेले प्रतिनिधिसभा निर्वाचनमा कुल ९ लाख ८९ हजार ९८७ रुपैयाँ खर्च गरेका छन्।
खर्च विवरणअनुसार मनोनयन दर्ता गर्दा १० हजार रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ। त्यस्तै नमुना मतपत्र तथा प्रचार सामग्री छपाइमा ६८ हजार १६१ रुपैयाँ खर्च गरिएको छ।
निर्वाचन अभियानका क्रममा यातायात तथा इन्धनमा सबैभन्दा बढी २ लाख ९५ हजार रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ।
यस्तै मतदाता प्रशिक्षणका लागि खाजा खर्चमा १४ हजार २०० रुपैयाँ खर्च भएको देखिन्छ।
त्यसैगरी वडास्तरीय प्रचारप्रसारका गतिविधिमा ४६ हजार रुपैयाँ खर्च गरिएको छ भने खाद्यान्न तथा रासन खरिदमा १ लाख २६ हजार रुपैयाँ खर्च गरिएको उल्लेख गरिएको छ।
त्यस्तै हवाई यात्रामा १३ हजार रुपैयाँ खर्च भएको लामिछानेले निर्वाचन कार्यालयमा बुझाएको खर्च विवरणमा जनाइएको छ।
निर्वाचन आयोगको व्यवस्थाअनुसार उम्मेदवारहरूले निर्वाचनपछि आफ्नो खर्च विवरण सम्बन्धित निर्वाचन कार्यालयमा बुझाउनुपर्ने हुन्छ।















